काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेको जनाएको छ।
मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठान शुद्धीकरण अभियानका लागि आन्दोलनमा उत्रिएका संयुक्त संघर्ष समितिले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेको जनाएको छ।
मन्त्रालयले थप मागहरु सम्बोधनका क्रममा रहेको भन्दै कोभिड–१९ संक्रमण महामारीको अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखि स्वस्थ्य सेवालाई सञ्चालन गर्न अनुरोध समेत गरेको छ।
स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको समस्या पहिचान तथा छानविन कार्यदल गठन भई प्रतिवेदन पेस भएको र उक्त प्रतिवेदन कार्यान्वय गर्न स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको जनाएको छ।
उक्त सहमति कार्यान्वयन गर्न मन्त्रालयबाट भएका कार्यविवरण समेत स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ।
जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वको उच्चस्तरीय समितिको प्रतिवेदन पेश भई सार्वजनिक गरिएको, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलबाट प्रतिष्ठानले गरेका काम कारबाही सम्बन्धी निरिक्षण एवं अनुगमन सम्पन्न भएको, प्रतिष्ठानमा कार्यरत उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकलाई गतिरोध अन्त्य गर्न सहज निकासको लागि मार्ग प्रशस्त्र गर्न निर्देशन भएको जनाइएको छ।
यस्तै, उपकुलपतिलाई प्राध्यपक उपाधिको प्रमाण पेश गर्नको लागि पत्राचार भइसकेको, ६ जना कर्मचारी परिषद्का सदस्यले सिनेटको बैठक बोलाउने बारेको निवदेन कुलपतिलाई दिए पश्चात सहकुलपतिको नेतृत्वमा समिति बन्ने क्रममा रहेको, लगायतका विषयहरु समेटिएको छ।
प्रतिष्ठानका आन्दोलनरत पक्षले आफ्ना सबै मागहरु सम्बोधन नभएको भन्दै आइतबारदेखि आकस्मिक, कोभिड र पूर्व निर्धारीत परीक्षा बाहेकका सबै काम बहिस्कार गरेका छन्।
