काठमाडौं– नेपाल चिकित्सक संघले आगामी असोजमा राष्ट्रिय स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ। संघले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी असोज ९ गते 'पेन्डामिक प्रिपेडनेस इन नेपाल' नामक सन्देश सहित राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्ने जनाएको हो।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार सो सम्मेलन गर्न लागिएको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए।
उनका अनुसार सम्मेलनका लागि आयोजक समिति गठन गरि शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक काम तिब्रताका साथ अगाडी बढाइएको छ। सम्मेलनका लागि संघले पूर्व अध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा अन्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजन समिति र डा कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति बनाएको छ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली र आम नागरिकका भोगाइ र सिकाईका आधारमा भावी नीति तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको बताए।
उक्त सम्मेलनमा मुख्य ५ वटा विषयमा आधारित हुनेछन्।
संघीयातामा माहामारीको पुर्वतयारी र व्यवस्थापनको अवस्था, महामारीमा जनशक्ति तथा सेवा प्रवाहको अवस्था, कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारको रणनीति, महामारीमा बहुक्षेत्रीय प्रतिक्रिया अवसर, चुनौती र महामारीबाट सिक्नुपर्ने पाठ, महामारीको पूर्वतयारीमा आउने नयाँ अवसर लगायत मुख्य ५ विषयवस्तुमा आधारित भएर सम्मेलन हुनेछ।
सम्मेलनमा वैज्ञानिक रुपमा प्रस्तुत भएका कार्यपत्र, छलफल र निचोडलाई एकिकृत गरी नेपालको स्वास्थ्य क्षेत्रमा देखा पर्ने प्राकृतिक विपत्ति, कोभिड–१९ जस्ता महामारीहरुको उचित समाधान, व्यवस्थापन र सामना गर्ने रणनीतिमूलक नीतिगत सुझाव सरकार र सरोकारवाला निकायमा सम्प्रेषण गरिने संघले जनाएको छ।
उक्त सम्मेलनले कोरोना महामारी र आगामी दिनमा आउने सक्ने स्वास्थ्य संकटका सामना गर्न सवल स्वस्थ्य प्रणाली निर्माणका लागि टेवा पुर्याउने संघले जनाएको छ।