काठमाडौं- आउँदो असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी गरिएको छ। विद्यालय खोल्ने विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षमा सोमबार बसेको बैठकले स्वास्थ्यका निश्चित मापदण्ड पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको हो।
बैठकमा काठमाडौंभित्र रहेका स्थानीय तहहरूका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधि, शिक्षा कार्यालय समन्वय इकाइका प्रमुख, सुरक्षा निकायमा प्रमुखहरू सहभागी थिए। उनीहरूले विद्यालय खोल्नुअघि पूरा गर्नुपर्ने निश्चित मापदण्ड समेत तय गरेका छन्।
असोज १ गतेदेखि पूर्ण रुपमा भन्दा पनि तयारीका रुपमा विद्यालय खुल्ने भएका हुन्। दशैं तिहारपछि मात्र विद्यालयहरू पूर्ण रुपमा खोल्ने तयारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना अधिकारी नेपालले बताइन्।
'विद्यालय खोल्नका लागि सबै शिक्षकलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने, जिल्ला शिक्षाको शिक्षा समितिले कोभिडको जोखिम विश्लेषण गर्ने र सुरक्षित देखेमा पूर्ण रुपमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय भएको छ', उनले भनिन्।