काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले यसअघि लेख्दै आएको प्राध्यापक पद आफैं हटाएका छन्।
डा गिरीको प्राध्यापक पदावीका विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो। डा गिरीले पनि आफू प्राध्यापक भएको भन्दै नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए। तर अहिले उनले नामको अगाडिबाट प्राध्यापक लेख्न छाडेका छन्। सोमबार उनले जारी विज्ञप्तिमा प्राध्यापक लेखिएको छैन।
डा गिरीले अमेरिकाको कोलोराडो युनिभर्सिटी अफ हेल्थ साइन्स सेन्टरबाट प्राध्यापक पदवी पाएको दाबी गरेका थिए। तर उक्त युनिभर्सिटीले डा गिरीको दाबी अस्वीकार गरेको थियो। युनिभर्सिटीले नै प्राध्यापक पदवी नदिएको बताएपछि प्रतिष्ठानका कर्मचारीले उनको प्राध्यापक पदका विषयमा छनबिन गर्न माग राख्दै आएका छन्। त्यसअघि पनि उनीहरुले छानबिनको माग गरेका थिए। आन्दोलनकारीले प्राध्यापक होइन भनेर प्रश्न उठाएपछि डा गिरीले कोलोराडो युनिभर्सिटीबाट प्राध्यापक भएको भन्दै झुटो दाबी गरेका थिए।
प्रतिष्ठानमा एकपछि अर्को विवाद र अनियमिततामा मुछिएका डा गिरीलाई उपकुलपतिबाट राजीनामा गर्न समेत सरकारले आग्रह गरेको छ। तर उनले अटेर गर्दै आएका छन्। सिनेट बैठक बोलाउन सरकारले गरेको अनुरोध नमानेपछि सरकारले उनको अधिकार समेत कटौती गरेको छ।
हेरौं विज्ञप्ति
पहिले प्राध्यापक लेखेर जारी गरेको विज्ञप्ति