काठमाडौं- राजनीतिक घटनाको विकासक्रमसँगै बागमती प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय बनाइएको छ। लुम्बिनी र गण्डकीपछि बागमती प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय बनाइएको हो।
बागमती प्रदेशमा यसअघि स्वास्थ्यका काम समाजिक विकास मन्त्रालयले हेर्दै आएको थियो। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा बागमतीमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाएकी हुन् ।
उनले सिन्धुलीबाट प्रतिनिधित्व प्रदेश सांसद प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकी छिन्।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ७ मन्त्री र ४ राज्यमन्त्री थपेकी छन्।
२ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन्। उनले २ भदौमा कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।
बुधबार मुख्ययमन्त्रीले सात मन्त्री र चार राज्यमन्त्रीले शपथ लिएको भौतिक पूर्वाधार मन्त्री केशव पाण्डेले बताए।
बुधबार मन्त्री हुनेमा रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन मन्त्री छन्।
यस्तै, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्र लामा नियुक्त भएका छन्।