काठमाडौं- फार्मेसी विषयमा नपढेकालाई नक्कली प्रमाणपत्र बनाउने र फार्मेसी काउन्सिलबाट समेत लाइसेन्स उपलब्ध गराउँदै आएको आरोपमा पक्राउ परेका एक व्यक्तिले डाक्टरको लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको समेत पाइएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले बागलुङका एक युवालाई मंगलबार पक्राउ गरेसँगै यो रहस्य बाहिर आएको हो। परिसर ललितपुरले बागलुङको वडिगार्ड गाउँपालिका–९ का ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो। केसीलाई परिसर ललितपुरको विशेष टोलीले मंगलबार कुपण्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको थियो।
परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार पक्राउ परेका केसीले फार्मेसीमा डिप्लोमा गरकोदेखि नेपाल फार्मेसी काउन्सिलबाट दिइने लाइसेन्ससम्म नक्कली बनाउँदै बेच्ने गरेको पाइएको छ।
यसका साथै, ती व्यक्तिले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स समेत मिलाउने भन्दै ठगी गरेको कुरा पनि बाहिर आएको छ।
मंगलबार काठमाडौं उपत्यकाबाट केसी पक्राउ परेसँगै उनीविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी समेत परेको प्रहरी स्रोतले जानकारी दियो। आफूलाई डाक्टर बताउने एक व्यक्तिले केसीबाट ठगिएको भन्दै उजुरी दिएका छन्।
रकम लगेको र त्यसपछि सम्पर्कबिहिन भएर ठगी गरेको बताइएको छ। तर ठगिएर पीडित भएको भनिएका व्यक्तिको कहानी भने अर्कै रहेको प्रहरीले स्रोतले जानकारी दियो। प्रहरी स्रोतका अनुसार केसीले ती व्यक्तिलाई नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट उपलब्ध हुने डाक्टरको लाइसेन्स समेत उपलब्ध गराइदिने भन्दै प्रलोभन देखाएका थिए।
एमबिबिएस पास गरे पनि काउन्सिलले लिने परीक्षा पास नहुँदासम्म डाक्टरको काम गर्न मिल्दैन। जसकारण ती डाक्टरले केसीलाई लाइसेन्सको लोभमा केही रकम पठाएको प्रहरी स्रोतले जानकारी दियो।
यो पनि :
परीक्षार्थीदेखि प्रमाणपत्रसम्म नक्कलीः फार्मेसी पासै नगरेकालाई काउन्सिलको लाइसेन्स