काठमाडौं– अवैध रुपमा क्यान्सरको औषधि बिक्री गर्ने गरेको आरोपमा काठमाडौंबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोल्फुटारबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको महाराजगञ्ज घर भइ काठमाडौंकै गोल्फुटार बस्दै आएका १९ वर्षीय प्रवल भण्डारी छन्।
काठमाडौंको बुढानीलकण्ठ–गोल्फुटार क्षेत्रमा केही व्यक्तिले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु अवैध रुपमा बिक्री गर्दै आइरहेको भन्ने सूचनाको आधारमा अपराध मशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भण्डारीलाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार उनले भन्सार छलि गरी ल्याइएका क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिहरु बिना कुनै इजाजतपत्र (लाइसेन्स) बिक्री वितरण गर्दै आएका भेटिएको छ।
उनले भारतमा रहेका आफन्तमार्फत ती औषधिहरु मगाइ बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, अस्पताल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्रि बितरण गर्ने गरेको महाशाखाले जानकारी दिएको छ।
प्रहरीले उनको साथबाट क्यान्सर रोगको उपचारमा प्रयोग हुने करिब ९ लाख मूल्य बराबरको औषधि समेत बरामद गरिएको जानकारी दिएको छ।
पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरमा पठाइएको महाशाखाले जानकारी दिएको छ।