काठमाडौं- चर्को विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंसोधन गरेको दरबन्दी तेरिजमा सरकारी चिकित्सक संघ (गोदान)ले फेरि पनि आपत्ति जनाएको छ। संघले संशोधन गरेर नयाँ दरबन्दी बनाउँदा पनि चिकित्सकलाई समावेश नगरेको भन्दै आपत्ति जनाएको हो।
संघले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाको मुख्य स्तम्भ रहेको चिकित्सकलाई नजरअन्दाज गरेको भन्दै दरबन्दीको विरोध गरेको छ।
गोदानको अध्यक्ष डा रबिन खड्का र महासचिव डा कीर्तिपाल सुवेदीद्धारा जारी विज्ञप्तीमा ‘नर्सिङ अधिकृत, जनस्वास्थ्य स्वास्थ्य अधिकृत जस्ता अरु विधाका स्वास्थ्यकर्मीहरु समावेश गरिनु तर चिकित्सक समूहको मेडिकल अधिकृत र विशेषज्ञ जानाजान नराखिनु हास्यास्पद एवं खेदपूर्ण छ’ भनिएको छ।
'चिकित्सा शिक्षा पढेका, स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक वर्गलाई नीति निर्माणको तहका लागि नियोजित रुपमै अयोग्य देखाउन खोजिनु निकै खेदपूर्ण हीन भावना र कुण्ठाले भरिएको देखिन्छ,' विज्ञप्तिमा भनिएको छ।
गोदानले मेडिकल अधिकृतदेखि विशेषज्ञहरुलाई मन्त्रालय विभाग, महाशाखा शाखा आदिमा दरबन्दी राखी अनिवार्य रुपमा नीति निर्माणको तहलाई थप बौद्धिक सबल दुरदर्शी होस भन्न चाहेको समेत उल्लेख गरेको छ।
यसअघि प्रस्तुत गरेको दरबन्दी तेरिजमा प्रशासन समूहको सचिव रहने व्यवस्था थियो। त्यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले तिव्र विरोध गरेपछि स्वास्थ्य समूहकै सचिव बनाउने गरी तेरिज संसोधन गरेको थियो। गोदानले पनि त्यसमा विरोध गरेको थियो।