विराटनगर- विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। श्रीमतीको मिर्गौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो।
सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक सुनिल शर्माले जानकारी दिए। ‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ,’ शर्माले भने, ‘प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको हो। अब, नियमित रुपमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गछौं।’ अहिले काठमाडौं र चितवनमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ। पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो।
नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो। नोबेलका मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा शाहसहितको टिमले गत शनिबार भुर्तेलको शरिरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो। मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक प्राडा प्रेम ज्ञवाली, डा दिपेश श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो।
ल्याप्रोस्कोपिक बिधिबाट श्रीमतिको बायाँ मिर्गौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा शाहले जानकारी दिए। ‘मिर्गौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनैपनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्यौं,’ उनले भने।
दुई बर्ष अघिदेखि दुवै मिर्गौला ‘फेल’ भएपछि टेकनाथ नियमित डाइलाइसिस गराउँदै आएका थिए। मिर्गौला प्रत्यारोपणपछि अहिले श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपण फिजिसियन डा श्रेष्ठ बताउँछन्। उनी भन्छन् ‘मिर्गौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनु पर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ। औषधि भने खाइरहनुपर्छ।’
नोबेल अस्पतालका निर्देशक डा राजेश नेपालका अनुसार मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो। स्वास्थ्य सेवा बिभागको अंग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो। दुबै मिर्गौला पूर्ण रुपमा ‘फेल’ भएका बिरामीहरुलाई मिर्गौला प्रत्यारोपण गर्ने गरिन्छ। नोबेलले यो सेवा सुरु गरेपछि पूर्वी नेपालका मिर्गौला विग्रिएका बिरामीहरुलाई सहज भएको छ।