काठमाडौं– औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी युमेडिकाको सबै औषधि नेपाल आयातका लागि रोक लगाएको छ।
औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले युमेडिकाको औषधि नेपाल आयातका लागि तत्काललाई रोक लगाएको हो। युमेडिकाको एउटा उत्पादनको लाइसेन्स रद्द गरिएको र बाँकीलाई निलम्बन गरिएको विभागले जनाएको छ।
युमेडिकाले नेपालमा बिक्रि गर्दै आएको युझोलिन–१००० औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले यो कदम चालेको हो।
युमेडिकाले बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि यरोक्झीम–७५० राखेर बिक्रि वितरण भएको पाइएको थियो। लापरबाही गरिएको औषधिको लाइसेन्स रद्द गरिएको र युमेडिकाको बाँकी उत्पादन निलम्बन गरिएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
उनले भने, ‘युमेडिकाको जुन औषधिमा लापबारही गरेको पाइएको थियो, त्यो उत्पादनलाई अहिले रद्द गरिएको छ। बाँकी उत्पादनको लाइसेन्स भने पछि स्वीकृति भयो भने निरन्तरता दिने किसिमले निलम्बन गरिएको छ।’
युमेडिकाले औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि लेबलिङ इरर रहेको भन्दै विभागले बिक्रि वितरण तत्काल रोक्न तथा आपूर्तिकर्तालाई फिर्ता गर्न निर्देशन दिएको थियो।