काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्व परिवर्तन गर्दा त्रुटि गरेको छ। ट्रमा सेन्टरको नेतृत्वमा मेडिकल सुपरीटेन्डेन्टको दरबन्दी रहेको छ। ११ औं तहका मेडिकल सुपरीटेन्डेन्टलाई जिम्मेवारी नदिए सरकारले १० औं तहका चिकित्सकलाई निमित्तको जिम्मेवारी दिन सक्छ।
ट्रमामा निर्देशक भन्ने दरबन्दी राखिएको छैन।
तर स्वास्थ्य मन्त्रालयले मंगलबार दशौँ तहका डा प्रमोद जोशीलाई ट्रमाको निमित्त निर्देशकको जिम्मेवारी दिएको छ। डा जोशीले मंगलबार नै पदवहाली समेत गरिसकेका छन्।
मन्त्रालयले ट्रमाको संगठन संरचना अनुसार डा जोशीलाई निमित्त मेडिकल सुपरीटेन्डेन्टको पत्र दिनुपर्नेमा प्रशासनिक त्रुटि हुँदा निमित्त निर्देशकको पत्र दिएको हो।
मन्त्रालयका एक कर्मचारी भन्छन्, 'प्रशासनका कर्मचारीले संगठन संरचना हेरेर पत्र बनाउनु पर्नेमा नहेरी बनाउँदा गल्ती हुन पुगेको हो।' उनले उक्त पत्र सच्याएर संगठन संरचना अनुसारकै पत्र पुन: दिने तयारी रहेको जानकारी दिए।
