काठमाडौं - सरकारी आयुर्वेद चिकित्सक संघले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना गर्न माग गरेको छ।
संघले एक विज्ञप्ति जारी गरी वरिष्ठ कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ ९/१० औँ तहको नेतृत्वमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना गर्न माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘आयुर्वेदका साथै होमियोप्याथी, प्राकृति चिकित्सा, यूनानी, सोवा रिग्पा आदि वैकल्पिक चिकित्सा पद्धतिहरुलाई समेट्ने गरी वरिष्ठ कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ ९÷१० औँ तहको नेतृत्वमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा समेतको व्यवस्था गर्नु अपरिहार्य रहेकाले सो गठनका लागि यस संघ बागमती प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछ।’
वर्षेनी बढ्दै गइरहेको नसर्ने रोगको प्रकोप न्यूनीकरण तथा उपचारका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको महत्वपूर्ण भूमिका हुने भएकाले महाशाखाको आवश्यकता रहेको संघको भनाई छ।
प्रदेश सरकारले मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव रहने गरी २५ जनाको दरबन्दी तेरिज सार्वजनिक गरेको थियो। दरबन्दी तेरिज अनुरुप मन्त्रालय गठन हुँदा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको प्रतिनिधित्व नहुने देखिएको संघले जनाएको छ।