काठमाडौं- सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप भोलि नेपाल आइपुग्ने भएको छ। सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जाने भएको छ। निगमका अनुसार आज साँझ ५:४५ बजे निगमको वाइडवडी ३३० बेइजिङ तर्फ जाने छ।
आज बेइजिङका लागि जाने विमानले भोली शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ। यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको हो।
भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।
भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो।
नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ।
असोजमा गाभी मार्फत १ लाख डोज फाइजर खोप आउने छ भने यसैवर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने बताइएको छ। फाइजर मंसिर सम्ममा आउने छ भने मोडर्ना केही समयपछि आउने बताइएको छ।