बलेवा- लागुपदार्थ सेवनगर्नेहरूबाट एचआइभी सङ्क्रमण बढ्न थालेकामा यहाँ चिन्ता व्यक्त गर्न थालिएको छ। सुई साटासाट गर्नेबाट एचआइभी बढेको आशङ्कामा त्यसको न्यूनीकरणका लागि सरोकार निकायले अभियान पनि थालेका छन्। बागलुङमै पनि त्यस्ता युवाको सङ्ख्या बढिरहेकाले पहिलो चरणमा सुरक्षित सुई लगाउने व्यवस्था गर्ने, त्यसपछि आनीबानीमा परिवर्तन ल्याएर शून्य दरमा घटाउने योजना बनाइएकोे स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए।
कम्युनिटी सपोर्ट गु्रपले उक्त कार्यालयको सहकार्यमा यो अभियान थालेको हो। बुधबार आयोजित एक कार्यक्रममा जिल्लामै २४६ देखि ३२५सम्म युवा लागुपदार्थ सेवनबाटै सङ्क्रमित भएको हुनसक्ने आँकलन गरिएको जानकारी दिइयो।
कम्तीमा ९० प्रतिशत सङ्क्रमित पहिचान गरेर तिनलाई एआरटी सेन्टर पुर्याउने र ९० प्रतिशत भाइरस नियन्त्रण गर्ने योजना उक्त गु्रपले बनाएको बताइयो । सङ्क्रमित पहिचान भएपछि तिनको आनीबानी परिवर्तन गराउने, समुदायबाटै समस्या समाधान गराउने, पटक-पटक भेटिएका सङ्क्रमितको नियमित अनुगमन गर्ने, साथी-साथी मिलेर सुई लगाउनेलाई एउटै सुई दिने, सुई लगाउने दर घटाउने र शून्यमा पुर्याउने लक्ष्यसमेत रहेको जानकारी दिइएको थियो।
अहिलेसम्म बागलुङमा ६७ युवाले सुईमार्फत लागुपदार्थ सेवन गर्ने गरेको भेटिएको जनाइएको छ।
नेपालभर २७ हजारदेखि ३४ हजारसम्म लागुपदार्थ सेवनकर्ता युवा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ। पहिलो चरणमा व्यक्ति र परिवारबाटै समस्या समाधान खोज्न जिल्ला समन्वय समितिका अधिकृत खिमबहादुर विकले सुझाव दिए।