काठमाडौं - काठमाडौंको दक्षिणकाली नगरपालिकामा हालसम्म शतप्रतिशत नागरिकले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।
१८ वर्ष माथिका करिब ९३ प्रतिशत नागरिकले खोप लगाएको नगरपालिकाले जनाएको छ। हालसम्म ३३ हजार ५०८ खोपको डोज खर्च भएको नगरपालिकाका कोभिड संयोजक विष्णु लामिछानेले बताए।
उनका अनुसार कोभिसिल्ड ३१४ महिला र २९८ पुरुष गरी ६१२, एस्ट्राजेनिका २७४ महिला र २५० पुरुष गरी ५२४, जोन्सन एण्ड जोन्सन २ हजार ३१८ महिला र २ हजार ९६९ पुरुष गरी ५ हजार २८७, १३ हजार ४५२ महिला र १३ हजार ६३३ पुरुष गरी २७ हजार ८५ जनाले भेरोसेल खोप लगाएका छन्।
उक्त नगरपालिकामा हालसम्म १९ हजार ८३० जनाले खोपको पहिलो मात्रा पुरा गरेका छन्। जसमध्ये १९ हजार ८२ जनाले दोस्रो मात्रा पुरा गरिसकेको नगरपालिकाले जनाएको छ। बाँकी रहेको ७४८ जनालाई असोजको ४ र ५ गते खोप लगाइने लामिछानेले जानकारी दिए। करिब १५ सय व्यक्तिहरु नगरपालिकाभन्दा बाहिर रहेको अनुमान छ।
उनले भने, ‘केही अपवाद बाहेक १८ वर्ष माथिका शतप्रतिशत लक्षित समूहलाई खोप लगाइसकेका छौँ। खोप लगाउन बाँकी रहेकालाई पनि असोज ४ र ५ गते लगाउँदैछौ।’
पूर्ण खोप घोषणाका लागि नगरपालिकाले खोपको अवस्था बारे बुझ्न समुदायस्तरमा स्वयंसेविका परिचालन समेत गरेको छ। खोप लगाउन छुटेका र अशक्त व्यक्तिहरुलाई घरमै गएर पनि आफूहरुले खोप लगाउने गरेको उनले बताए।
दक्षिणकाली नगरपालिकामा हालसम्म ९७९ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये २३ जनाको मृत्यु भएको छ। हाल २७ जना सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको छ। २०६८ को जनगणना अनुसार दक्षिणकाली नगरपालिकामा २४ हजार २९६ जनसंख्या छ।