काठमाडौं– नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप रोकिएका सन् २०१४ ब्याचका विद्यार्थीलाई कागजपत्रसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।
चिकित्सा शिक्षा आयोगको असार २३ गतेको सूचना अनुसार नेपालमा इन्टर्नसिप गर्न पाउँ भनि आवेदन दिएका १६५ जना विद्यार्थीलाई काउन्सिलमा बोलाएको हो।
आयोगले तोकेको फारम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको कागजपत्र सहित असोज ४,५ र ६ गते बिहान १० देखि ३ बजेसम्ममा काउन्सिलको कार्यालयमा आउन आग्रह गरिएको छ।
इन्टर्नसिप गर्ने विद्यार्थी स्वयं उपस्थित भइ फारम बुझाउन र प्रमाणपत्र रुजु गराउनुपर्ने काउन्सिलले जनाएको छ। कोरोना महामारीका कारण चीनका विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले इन्टर्नसिप पुरा गर्न पाएका थिएनन्। उनीहरुले नेपालमै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन भन्दै शिक्षा मन्त्रालय, काउन्सिल र आयोगमा पटक पटक निवेदन समेत दिएका थिए।
विद्यार्थीहरुको निवेदन पछि आयोगले असर २३ गते सन् २०१४ ब्याजका विद्यार्थीहरुका लागि नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन आवेदन खुला गरेको थियो।