काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा प्रेमराज ज्ञवालीको जिम्मेवारी खोसिएको विषय यतिबेला चर्चामा छ। सरकारले एक साताअघि डा ज्ञवालीलाई निर्देशकबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि पुन: उनलाई हटाउने निर्णय सरकारले फिर्ता लिएको विषय पनि सार्वजनिक भएको छ।
उनको जिम्मेवारीका विषयमा खास भएको के हो? स्वास्थ्यखबरले यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतसँग जानकारी लिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार डा ज्ञवालीलाई प्रत्यारोपण केन्द्रको निर्देशकबाट हटाउने निर्णय भदौ २५ गते नै भएको हो।
उक्त निर्णयपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई तत्काल नहटाउन आग्रह गरेपछि उक्त निर्णय फिर्ता लिने कुरा भएको छ। तर फिर्ता लिने विषयमा मन्त्रिपरिषदबाट निर्णय भने भइसकेको छैन।
'उहाँलाई त्रिवि शिक्षण अस्पतालमा नै फिर्ता बोलाउने निर्णय भएको हो' प्रधामन्त्री देउवा निकट स्रोतले भन्यो, 'तर तत्कालै उहाँलाई नहटाउन सुझाव आएकाले पहिला गरिएको निर्णय फिर्ता लिने कुरा भएको छ। एक दुई दिनमा उहाँको सरुवा फिर्ताको निर्णय हुने सम्भावना छ।'
मानव अंग प्रत्यारोपण विकास समिति गठन पहिलो संशोधन आदेश २०७७ दफा ६ को उपदफा ७ बमोजिम प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट यसअघि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महारजगञ्ज क्याम्पस महाराजगञ्जमा फिर्ता गर्ने निर्णय २५ गते भएको थियो। उक्त निर्णयको जानकारी स्वास्थ्य मन्त्रालयले डा ज्ञवालीलाई २९ गते पत्र पठाउँदै दिएको थियो।
योसँगै सरकारले गठन आदेश संशोधन गर्दै प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा तर्फबाट निर्देशक नियुक्त गर्ने विषय पनि राखेको थियो। तर तत्काललाई यी दुवै विषयमा भएको निर्णय सरकारले फिर्ता लिने सम्भावना देखिएको छ।
केपी ओली नेतृत्वको सरकारले डा ज्ञवालीलाई डेढ वर्षअघि ४ वर्षका लागि प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको हो।
यो पनि :
स्वास्थ्य मन्त्रालयले नै कारबाही सिफारिस गरेको र विवादै विवादमा मुछिएका डा पुकारलाई फेरि निर्देशक बनाउने खेल