काठमाडौं– नेपाल मेडिकल काउन्सिलले बिरामीको उपचारमा गैरकानुनी कार्य गरेको भन्दै बयोधा अस्पतालसँग स्पष्टीकरण मागेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचार गर्दा अस्पतालले कानुनविपरित काम गरेको ठहर गर्दै स्पष्टीकरण माग गरेको हो।
२०७७ साल कात्तिक ९ गते बयोधा अस्पतालमा उपचारका लागि पुगेकी पल्लबी श्रेष्ठले आफ्नो उपचारको क्रममा लापरबाही भएको भन्दै अस्पतालविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन्।
उनले एकजना डाक्टरको नामबाट ओपिडी टिकट काटी उपचार गराउन जाँदा अर्कै डाक्टरबाट उपचार भएको र उपचारका क्रममा पनि लापरबाही भएको भन्दै छानबिन गरी कारबाहीको माग समेत गरेकी थिइन्।
बिरामीको उजुरीपछि काउन्सिलले गरेको छानबिनमा बयोधा अस्पतालले एकजना विशेषज्ञको नाम देखाई अर्को चिकित्सकबाट बिरामी परीक्षण गराउने कार्य गरेको तथ्य प्रमाणबाट देखिएको काउन्सिलले जनाएको छ।
यस्तो कार्य नेपाल मेडिकल काउन्सिलको नियमावली तथा नेपाल मेडिकल काउन्सिल कोड अफ इथिक्स र उपभोक्ता संरक्षण ऐन,२०७५ विपरित भएको देखिएको भन्दै काउन्सिलले पत्र काटेको हो।
अस्पतालले गैरकानुनी कार्य गरिरहेको भनी सम्बन्धित निकायलाई अनुसन्धान तथा सिआइबीलाई कारबाहीको सिफारिस गर्नुपर्ने भरी अनुरोध गर्ने अवस्था भएको काउन्सिलले जनाएको छ।