काठमाडौं- कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखामा कोभिडको स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर दुई जना स्वास्थ्यकर्मीबीच विवाद भएको छ। स्टोर शाखामा कार्यरत सिअहेव शारदा चन्द र अर्का सिअहेव गेहराज खनालबीच विवाद भएको हो।
विवादका विषयमा तीनवटा स्वास्थ्यकर्मीका दुई र अर्को एक गरी तीनवटा संगठनले संयुक्त रुपमा निकालेको विज्ञप्ति अनुसार स्टोर शाखामा कार्यरत शारदा चन्दबाट टिप्पणी सहितको कागजात छिनेर गेहराज खनालले अभद्र व्यवहार गरी उक्त टिप्पणी च्यातेर केही टुक्रा चपाउँदै कोठाबाट निस्केका थिए।
उक्त विषयमा नगर स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक अनिल सेन ठकुरीले बुझ्न खोज्दा खनालले आफूलाई ठकुरीले कुटपिट गरेको भन्दै झुटो आरोप समेत लगाएको विज्ञप्तिमा उल्लेख छ।
नेपाल स्वस्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेकबहादुर केसी, संघको नगरकार्यसमिति अध्यक्ष राजेशकुमार सेन र ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका सह–सचिव सरोजकुमार शाहले मंगलबार संयुक्त रुपमा विज्ञप्तिमा जारी गर्दै कार्यालयको टिप्पणी च्यातेको र महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै खनाललाई कारबाहीको माग गरेका छन्।
विज्ञप्ति अनुसार खरिदको कागजपत्र च्यात्ने र चपाउने घटना असोज १ गते भएको हो।
नगरपालिकाका अनुसार कोहलपुर नगरस्तरीय स्वास्थ्य व्यवस्थापन समितिको भदौ ८ गतेको बैठकले कोभिडका सामग्री खरिदको निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा पिसिआर र एन्टिजेन परीक्षणका लागि सामग्री खरिदको टिप्पणी फाइल ३१ गते उठाइएको थियो। उक्त टिप्पणीमा शाखा प्रमुख सिंहसहित खनालको पनि हस्ताक्षर रहेको छ।
तर त्यसको भोलिपल्ट नै असोज १ गते खनाल स्टोर शाखामा पुगेर शारदा चन्दसँग विवाद गर्दै टिप्पणी च्यात्ने र चपाउने काम गरेको आरोप लगाइएको छ।
उक्त विषयमा छानबिन गरी कारबाही गर्न तीनवटै संगठनले माग गरेका छन्।
हेरौं विज्ञप्ति
