बारबर्दिया- बर्दियाको बारबर्दिया नगरपालिकाले एमबिबिएस पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। एमबिबिएससँगै नगरपालिकाले इन्जिनियरिङ र सिए विषय पढ्न चाहने विद्यार्थीसँग पनि आवेदन माग गरेको छ।
यी तीन विषयमा एक–एकजनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले जानकारी दिए। नगरभित्र ४२ सामुदायिक र १५ संस्थागत गरी कुल ५७ विद्यालयमा अध्ययनरत बालबालिकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमार्फत् सो बिषयमा पढ्नका लागि यो योजना अघि सारेको शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिए।
'हामीले आवेदन माग गरेका छौँ। आवेदनका आधारमा छनोट गरेर छात्रवृत्ति दिन्छौँ,' उनले भने।
अनिवार्य तथा निःशुल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रुपमा २०७५ सालमा बारबार्दिया नगरपालिका घोषित भएको हो। त्यसयता विभिन्न शैक्षिक योजना बनाउँदै विपन्न तथा पछाडि पारिएका समुदायका विद्यार्थीका लागि काम गर्दै आएको छ। जनतासँग नगरप्रमुख, विद्यार्थीसँग नगरप्रमुखलगायत कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक सहुलियत तथा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको नगरपालिका शिक्षा शाखाप्रमुख टीकानाथ गोसाईंले जानकारी दिए।
त्यस्तैगरी अति विपन्न, आमाबुबा नभएका बालबालिकालाई पनि आवासीय शिक्षा बाल संरक्षण केन्द्र बनाएर प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। आधारभूत तहमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका सयजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। प्रमुख गोसाईंले भने, “घरैमा बस्ने तर विद्यालय जानका लागि आवश्यक कपीकिताब, पेन्सिल, पोसाक खरिद गर्न नसक्ने सयजना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ।” रासस