काठमाडौं–डाक्टर भक्तमान श्रेष्ठ अपहरण घटनाका दोषी राजेन्द्र पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पण्डितलाई नुवाकोटबाट पक्राउ गरेको हो।
चितवन मेडिकल कलेजका तत्कालीन निर्देशक श्रेष्ठलाई पण्डितसहितको समूहले २०६७ जेठ ४ गते अपहरण गरेको थियो। अपहरण पश्चात फिरौती स्वरुप ३ किलो ६ सय ग्राम सुनसमेत अपहरणकारीको समूहले असुल गरेको थियो।
उक्त अपहरणमा संलग्न भएको आरोपमा पण्डितलाई उच्च अदालत पाटनको हेटौंडा इजलासले ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
अपहरण काण्डमा संलग्न रहेका पण्डित लामो समयदेखि भारतस्थित विभिन्न ठाउँमा लुक्दै बस्दै आएका थिए। पछिल्लो पटक नुवाकोट आएको सूचना पाएपछि प्रहरीले उनलाई नुवाकोटस्थित घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका पण्डितलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार पठाइने छ।
अपहरणकारी भीमसेन पण्डित, रोहित पलिवालको समूहमा रहेर राजेन्द्रले काम गरेका थिए। यस अपहरण घटनामा बद्रीप्रसाद ढुंगाना, सुनिल श्रेष्ठ, नवीन क्षेत्री, रोहित पालिवाल, सब्बा तामाङ यसअघि नै पक्राउ परिसकेका छन्। भीमसेन पण्डित भने अहिलेसम्म फरार नै छन्।