काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताएका छन्।
बिहीबार मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।
‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘म्याद गुज्रेका औषधि र खाद्यसामाग्री बिक्री गरेको पाइएमा हामी कानुन अनुरुप अगाडि बढ्नुपर्छ। त्यस विषयमा यहाँहरूले ध्यान दिनुहोला।’
आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापन एजेण्डा राखेर बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी निकायका र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा मन्त्री खाणले म्याद गुज्रेका सामाग्री बेच्दा धुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे।
उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीहरूलाई आग्रह गरे।
‘अन्य बेलामा जस्तै धेरै नाफा नलिई कम नाफा लिएर सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ,’ उनले भने, ‘बढी मूल्यमा बेचेको अनुगमनका क्रममा पाइएमा सरकारी निकाय कानुन अनुरुप अगाडि बढ्न पर्छ।’