काठमाडौं- नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले आफूलाई हृदयघात नभएको बताएका छन्। दुबई भ्रमणमा रहेका चौधरीलाई हृदयघात भएको र अवस्था गम्भीर बनेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए।
स्वास्थ्यखबरसँग कुराकानी गर्दै उनले भने, ‘कोरोना महामारीका कारण लामो समय अस्पतालमा समय दिनु परेकाले निकै व्यस्त भएको थिएँ। त्यही भएर रिफ्रेसमेन्टका लागि दुबई आएको हुँ। यहाँ आएपछि स्वास्थ्यमा केही समस्या देखिएपछि जाँच गराएको हुँ। जाँचका क्रममा सामान्य समस्या मात्र देखिएको हो। समाचारहरुमा आएको जस्तो हृदयघात भएर गम्भीर भएको कुरामा सत्यता छैन।’
उनले आफू घुमघाम र निजी कामका सिलसिलामा दुबई आएको बताए। ‘म उपचार गर्ने भए त नर्भिक अस्पतालमा नै गरिहाल्थेँ नि। यहाँ रिफ्रेस हुनका लागि आएको हुँ। उपचारका लागि आएको होइन।’
नर्भिक अस्पतालले पनि विज्ञप्ति जारी गर्दै यस विषयमा प्रष्ट पारेको छ। अस्पतालले निजी कामका लागि दुबईमा रहेका चौधरीको स्वास्थ्य गम्भीर नभएको र बाहिर आएका समाचारमा पूर्ण सत्यता नभएको जनाएको छ।
‘नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं,’ नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं।’