काठमाडौं - कोभिड परीक्षणका क्रममा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको पाइएपछि सुमेरु सिटी अस्पताललाई कारबाही गरिएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले अस्पताललाई एन्टिजेन परीक्षणमा बढी शुल्क लिएको पाएपछि २० हजार रुपैयाँ जरिवाना तिराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार सेवाग्राहीको उजुरीपछि गरिएको संयुक्त बजार अनुगमनका क्रममा अस्पतालले बढी शुल्क लिएको पाइएपछि कारबाही गरिएको हो।
सरकारले एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ। तर अस्पतालले सेवाग्राहीसँग २ हजार ५ सय रुपैयाँ लिएको पाइएको हो।
अस्पतालले बढी रकम लिएको प्रमाण फेला पारेपछि कारबाही गरिएको बस्नेतले जानकारी दिए।