काठमाडौं- कैलालीको धनगढीस्थित नवजीवन अस्पतालले जटिलताका कारण सुत्केरीको ज्यान गएको प्रतिक्रिया दिएको छ।
अस्पतालले एक विज्ञप्ति जारी गरी चिकित्सकको लापरबाहीले नभई जटिलताका कारण सुत्केरीको मृत्यु भएको स्पष्टीकरण दिएको हो। विज्ञ टोलीले हर संभव प्रयास गर्दा पनि बिरामीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।
२६ वर्षीया कल्पना सिंह मल्ल पेट दुखेर असोज ९ गते अस्पताल पुगेकी थिइन्। उनको बच्चा जन्माउने घर सबै खुलेपनि बल नपुगेको कारण भ्याकुम प्रयोग गरेर डेलिभरी गराउनु परेको अस्पतालले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पाठेरघको मुख नरम मात्र नभई एकघर मात्र खुलेको र त्यस औषधि दिएर बाटो खुलाउने प्रयास गर्दा राति ११ः४४ बजे तिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको र बच्चाको धड्कन कम हुँदै गएकाले भ्याकुम प्रयोग गरी डेलिभरी गराएको हो।’
डेलिभिरीपछि पाठेघर मुख फराकिलो बनाउन दिएको ‘इपीसीओटोमी’ सिलाउनको लागि बिरामीले असहज महसुस गरेपछि बेहोस बनाएर टाका लगाउन सुरु गरिएको विज्ञप्तिमा उल्लेछ। सिलाउने क्रममा अत्यधिक रक्तश्राव हुन थालेपछि हर संभव प्रयास गर्दा पनि चिकित्सकले रक्तश्राव रोक्न सकेका थिएनन्।
बिरामीको रक्तचाप कम हुँदै हाइपोभोल्मेक सक भई बिरामीको मुुटुको चाल समेत तलमाथी भएपछि बिरामीलाई भेन्टिलेटरमा सारिएको थियो। बिरामीको अवस्थामा सुधार ल्याउन विज्ञ
टोलीले हर संभव प्रयास गर्दा पनि सडेन कार्डियाक अरेस्ट भई बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ।
‘विज्ञ टोलीले हर संभव प्रयास गर्दा समेत सडेन कार्डियाक अरेस्ट भई बिरामीको दुखद निधन हुन गएको हो।’ विज्ञप्तिमा उल्लेख छ।
सुत्केरीको मृत्यु भएपछि उपचारको क्रममा त्रुटि भएको आरोप लगाउँदै उनका आफन्त विरोधमा उत्रेका थिए।