काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले प्रतिष्ठानका प्राडा पारस कुमार पोखरेललाई वार्षिक उत्सव समारोहको नेतृत्व गरेको भन्दै स्पष्टीकरण सोधेका छन्।
प्रतिष्ठानको अनियमिततामा मुछिएका र 'प्राध्यापक हुँ' भनेर झुटो विवरण पेश गरेको प्रमाणित भएपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेका उपकुलपति डा गिरीले प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमको नेतृत्व गरेको भन्दै प्राडा पोखरेललाई स्पष्टीकरण सोधेका हुन्।
कारबाही गर्नुपर्ने उपकुलपतिले राम्रो काम गरेका प्राध्यापक डाक्टरलाई नै बिना कारण स्पष्टीकरण सोधेपछि प्रतिष्ठानका कर्मचारीले मंगलबार उपकुलपतिविरुद्द आन्दोलनका कार्यक्रम गर्ने भएका छन्।
प्राडा पोखरेललाई कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेपछि प्रतिष्ठान शुद्धीकरण अभियानका अभियान्ताहरुले विरोध समेत जनाइसकेका जनाएका छन्। उनीहरुले फ्याकल्टी तथा कर्मचारीहरुले स्वत स्फूर्त रूपमा प्रतिष्ठानको बार्षिकउत्सव मनाउनुलाई सहज ढंगले लिनु पर्नेमा कारबाहीको धम्की दिएको भन्दै विरोध जनाएका हुन्।
उनीहरुले प्रतिष्ठानका पदाधिकारीले प्राडा पोखरेललाई कारबाहीका लागि स्पष्टीकरण सोधेकोमा आपत्ति जनाउदै उक्त स्पष्टीकरण फिर्ता लिन आग्रह गरेका छन्।
प्रतिष्ठानका उपकुलतिले सोधेको स्पष्टीकरण फिर्ता नलिए फेरी आन्दोलन गर्ने आन्दोलनरत पक्षको भनाइ छ।
उनीहरुले सो को विरोधमा मंगलबार बिहान ८ बजे आफ्नो सम्पूर्ण काम छोडेर उपकुलपति कार्यालय अगाडि धर्ना दिने जनाएका छन्।