काठमाडौं - सरकारले हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको औषधि व्यवस्था विभागले जनाएको छ।औषधिको मूल्य निर्धारण सम्बन्धी गलत र भ्रामक खबर बाहिर आएको भन्दै विभागले प्रेस विज्ञप्ति जारी गरी हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको जनाएको हो।
हालसम्म विभिन्न ९६ प्रकारका औषधिहरुको २०७२ साल साउन १८ मा नेपाल राजपत्रमा प्रकाशित गरी तथा २१ प्रकारका औषधिहरुको प्रक्रिया पुरा गरी मूल्य निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ। सो बाहेक अन्य कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरिएको विभागको भनाई छ।
सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य स्वयं उत्पादकहरुले नै निर्धारण गर्ने गरेको विभागको भनाई छ। त्यस्ता औषधिहरुको सिफारिस तथा प्रमाणपत्रहरुको नवीकरण गर्दा अधिकतम खुद्रा मूल्य वृद्धि भएको अवस्थामा साबिकको अधिकतम खुद्रा मूल्यमा १० प्रतिशतभन्दा बढी नबढ्ने गरी नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गरिएको विभागले जनाएको छ।
विभागका अनुसार कुनै पनि औषधिको मूल्य सम्बन्धित देशको सन्दर्भ मूल्यभन्दा बढी अधिकतम खुद्रा मूल्य काम गर्न अनुमति दिइएको छैन।