काठमाडौं- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको लागि पूर्ण रुपमा तयार रहेको जनाएको छ। तेस्रो वर्षमा प्रवेश गरेको प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित तेस्रो लहरको लागि पूर्ण रुपमा तयार रहेको जनाएको हाे।
प्रतिष्ठानले हाल २० वेडको आइसियु, १० बालबालिकाका लागि पिआइसियु, ५० वेको एचडियूसहितको कोभिड वार्ड व्यवस्थापन गरेको र २ वटा अक्सिजन प्लान्ट जडान गरि तयारी अवस्थामा राखिएकाे जनाएको छ।
पहिलो लहरमा अक्निजन प्लान्ट नभएले आइसियु संचालनमा ल्याउन नसक्दा ठूलो चुनौतिको सामना गर्नुपरेको समेत प्रतिष्ठानले उल्लेख गरेको छ। अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ३०० अक्सिजन सिलिन्डर भर्ने क्षमता रहेको बताइएको छ।
प्रतिष्ठानले निकट भविष्यमा आँखाको शल्यक्रिया सेवा संचालनमा ल्याइने, स्वास्थ्य सेवा बिस्तारका लागि २५ वेडको वार्ड निर्माण गरिएको जनाएको छ। तेस्रो लहर आएको खण्डमा सो वार्डलाई एचडियूको रुपमा प्रयोग गर्ने जनाएको छ।
प्रतिष्ठानका निर्देशक डा प्रज्ञासिंह बस्नेतले स्वास्थ्य सेवा बिस्तारका लागि अत्याधुनिक उपकरण सहितका ४ वटा अप्रेशन थियटर निर्माण गरिएको र छिटै एमआरआई मेसिन जडान गर्ने प्रक्रियामा रहेको बताइन्।
निर्देशक बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘भविश्यमा आफ्नो व्लड बैक संचालनमा ल्याउने प्रक्रिया अगाडी बढाई सकिएको छ। दीर्घकालीन रुपमा मेडिकल कलेज संचालन गर्न गुरुयोजना अनुसार सुबिधा सम्पन्न आधुनिक अस्पताल भवन निर्माण गरी शैक्षिक तथा प्रशासनिक भवनहरु निर्माण गरी शैक्षिक कार्यक्रमको साथ अघि बढाउन प्रण गर्दछौं।’
वि.स २०१५मा १५ वेडको महेन्द्र अस्पतालका रुपमा स्थापित यो अस्पताललाई उपक्षेत्रीय अस्पतालको रुपमा बिस्तार गर्दै २०७५ असोज १२ गते राष्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा हस्तान्तरण गरिएको हो।
प्रतिष्ठानले २०७७/७८मा ६६ हजार १८३ जनालाई ओपिडि सेवा दिनुका साथै एक हजार ५३७ मेजर र ८८० माइनर सहित २ हजार ४१७ शल्यक्रिया गरेको जनाएको छ।
त्यसैगरी, २ लाख ४५ हजार ७१ जनाले प्रयोगशाला, १ लाख १२ हजार ४६० जनाले एक्सरे, ७६४ जनाले सिटी स्क्यान, १२ हजार ७१२ जनाले आकस्मिक सेवा लिएका छन्।
२३ हजार ६२१ जनाको पिसिआर परीक्षण गरिएको, २३ जनाले नन् कोभिड, २ जनाले कोभिड आइसियु र २०२ जनाले कोभिड एचडियू उपचार सेवा गरेको प्रतिष्ठानले जनाएको छ।
तेस्रो वार्षिकोत्सको अवसरमा प्रतिष्ठानले म्याराथन, वृक्षारोग, रक्तदान लगायतका कार्यक्रम संचालन गरेको जनाएकोछ ।