काठमाडौं- दुई वटा नेपाली औषधि उत्पादक कम्पनीका दुई औषधिमा समस्या देखिएको छ। औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा क्यूमेड फर्मुलेसन प्राली र लोमस फर्मास्युटिकल्स प्रालीले उत्पादन गरेका औषधिमा समस्या देखिएपछि कारबाही प्रक्रिया अगाडि बढाएको हो।
विभागले दुवै औषधि कम्पनीको उत्पादनको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाएको हो। औषधि न्यून गुणस्तरको पाएपछि विभागले औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको हो।
विभागले बजारमा पुगेका ती औषधि तत्कालै फिर्ता गर्न र त्यसको विवरण पेश गर्न भनेको छ।
विभागको अनुगमनका क्रममा क्यूमेडको लेभोसेफ-५०० (लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स) नामको औषधि र लोमसको जेफिक्स-१०० (सेफिक्सिम १०० एमजी डिस्प्रेसिवल ट्याब्लेट्स) नामका औषधि न्यून गुणस्तरको फेला पारेको हो। क्यूमेडको लेभोसेफ-५०० औषधिको ब्याच नम्बर एलभिटी११०१७ र लोमसको जेफिक्स-१०० को ब्याच नम्बर जेडएक्स०२२० मा समस्या देखिएको हो। यी दुबै औषधि एन्टिबायोटिक्स हुन्।