काठमाडौं- विदेशमा चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गराउनका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। कोभिड–१९ का कारण इन्टर्नसिप गर्न नपाएका सन् २०१५ ब्याचका विद्यार्थीसँग शिक्षा मन्त्रालयले आवेदन मागेको छ।
मन्त्रालयले सूचना जारी गर्दै असोज २२ गतेसम्म आवेदन दिन भनेको छ। शिक्षा मन्त्रालयको सूचना लिंकमा गएर विद्यार्थीले आवेदन दिन सक्ने छन्। (आवेदन प्रणाली लिंकका लागि यहाँ क्लिक गरौं)
चीन तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले कोभिडका कारण इन्टर्नसिप गर्न नपाएपछि नेपालमा नै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन्। सरकारले सन् २०१४ ब्याचका लागि इन्टर्नसिप गराउने निर्णय गरेर आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ।
अब सन् २०१५ ब्याचका सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा नै प्रयोगात्मक अभ्यास पूरा गर्ने व्यवस्था मिलाउनका लागि आवेदन माग गरिएको हो। सन् २०१५ ब्याचमा यस्ता विद्यार्थी कति छन् भन्ने यकिन तथ्यांक नभएकाले सरकारले आवेदन माग गरेर प्रक्रिया अगाडि बढाएको हो।
सरकारद्वारा सुझाव पेश गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको थियो।
सो कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप लगायतका कोर्ष बाँकी रहेका विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा मन्त्रालय अन्तर्गतका अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्रालयमा लेखि पाउने निर्णय गरेको छ।
मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा भएको बैठकले गत भदौ २३ गते प्राडा दिलिप शर्माको संयोजकत्वमा सो कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलमा संयोजक प्राडा शर्मासँगै सदस्याहरुमा प्राडा दिव्यासिंह शाह, प्राडा राजेन्द्र कोजु, डा लोचन कार्की, डा हरि प्रसाद लम्साल, डा मदन कुमार उपाध्याय र डा कृष्ण प्रसाद अधिकारी सदस्य छन्।
हेरौं सूचना
