काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दोहोर्याएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्नेगरि काम गरिरहेको जानकारी समेत दिए।
विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई कोरोना विरुद्धको खोप लगाउने काम गरिरहेको दाबी गरे।
वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ। राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए।
‘करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु। किनभने हामीले १ करोेड ७७ लाख खोप ल्याइसकेका छौं। यो दशैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु’, उनले भने, ‘हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाएका छौं। फ्रन्ट लाइनरहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ। १४ वटा हिमाली जिल्लाहरूमा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। बालबालिकाहरूका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको छ।’
राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रुपमा गर्नेगरि सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको बताए। कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे।
उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिकाभित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी दिए। उनले साइकल चढेर नागरिकहरूले शारीरिक व्यायाम गरुन् भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साइकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए।