काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शैक्षिक अनुसन्धानात्मक कार्यका लागि सम्झौता भएको छ। बुधबार गंगालाल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा भएको एक कार्यक्रमका बीच प्रतिष्ठान र अस्पतालबीच सम्झौता भएको हो।
गंगालाल अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पताल र प्रतिष्ठानबीच जनशक्तिको सुदृढीकरण, अनुसन्धान र जनशक्तिको आदानप्रदान लगायतका विषयमा सम्झौता भएको हो।
अस्पताल र प्रतिष्ठान बीच भएको सम्झौता अनुसार अब प्रतिष्ठानमा अध्ययन गर्ने मेडिकल विद्यार्थीहरुले गंगालाल अस्पतालमा मुटु रोगका उपचार बारे तालिम लिन पाउनेछन्।
डा अधिकारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई मुटु रोग सम्बन्धि अनुसन्धान तथा तालिमका लागि गंगालाल अस्पतालले सहयोग गर्ने बताए।
‘हामीले गरेको सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत चिकित्सकलाई गंगालालमा २ महिनासम्मको मुटु रोगको प्राथमिक उपचार तथा मुटु रोगका बारेमा तालिम प्रदान गर्छौं, अनुसन्धानात्मक कार्यमा सहयोग गछौं’ डा अधिकारीले भने, ‘यो सम्झौताले त्यहाँ पढ्ने मेडिकल विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ।’