अहिले स्वास्थ्य मंत्रीको यो प्रयास सफल हुनु भनेको भोलि नेपालमा योग्य चिकित्सक कसरी बनाउने भन्ने निर्णय बाँसबारीको काउन्सिलमा हैन बल्खु, सानेपा वा पेरिसडाँडाका पार्टी कार्यालयहरुमा हुनु हो । चिकित्सकहरुको यत्रो प्रतिरोध र व्यवधान हुँदा त यिनले चिकित्सा शिक्षालाई सुपारी तस्करीजस्तै खाली कमाइको भाँडो बनाइसकेका छन्, त्यो पनि पार गरे भने अझ के के गर्लान् ?
……………..
चार दशकभन्दा बढी समयसम्म निरन्तर बिस्तार र विकास भएर महाराजगञ्जस्थित अस्पताल जुन अवस्थामा पुगेको छ, एउटा बेनाम अस्पताललाई त्यो अवस्थामा पुर्याउन यही स्थितिमा अरु चार दशक नै लाग्ने देखिन्छ । तबसम्मका लागि यी मानसिक रुपमा विचलितहरुको गुरुयोजना के हो? एउटा सुई नलगाई डिग्री पाउने नर्सहरु? एउटा जाँच नगरी डिग्री पाउने ल्याब जनशक्ति? एउटा सीटीस्क्यान नदेखी डिग्री पाउने रेडियोलोजी प्राविधिक? एकाध बिरामी जाँच्न नपाई डिग्री पाउने चिकित्सक?
………………
यी खलनायकहरु पदबाट झर्दा त्यहाँ अकस्मात् नायकहरुको उदय होला भनेर सपना देख्ने स्थिति त छैन तैपनि यिनमा भन्दा कम दुस्साहस र आपरधिकता भएका मानिसहरु आए भने केहि भए पनि अवस्था सुध्रिएला भन्ने झिनो आसा जीवितै छ।
लिखित आख्यानमा होस् वा नाटक वा चलचित्रजस्ता श्रव्यदृश्य आख्यानमा होस्, असल र खराबबीच द्वन्द्व देखाउनु छ भने त्यसका लागि एउटा नायक र अर्को खलनायकको सृजना गरिन्छ । खलनायक जति क्रुर, दुष्ट र भयावह, नायक उति नै सज्जन, साहसिक र बुद्धिमान । एउटा कमजोर खलनायकको सामुन्ने राम्रो नायक पनि त्यति राम्रो देखिन छाड्छ । पछिल्लो समयमा कुनै पनि व्यक्ति निरपेक्ष असल र खराब हुन सक्दैन, त्यसैले फर्मुलामा बनाएका भनिने नायक र खलनायकवाला चलचित्रहरुले समाजको सही चित्र उतार्दैनन् भनेर वैकल्पिक विधाका धेरै शक्तिशाली चलचित्रहरुले व्यक्ति व्यक्तिबीच त्यस्तो लक्ष्मण रेखा खिच्न छाडेर एकै व्यक्तिको मनोविज्ञानका असल र खराब पाटाहरुको चित्रण गर्ने प्रयास गरेको पाइन्छ । हुन पनि समाजमा फर्मुलामा बनेका चलचित्रहरुमा झैं सज्जनता र साहसको भण्डार भएका तर कुनै अवगुण नभएका नायकहरु पाउन असम्भवप्रायः छ । दुर्भाग्यवश, चलचित्रका खलनायकहरुसित मिल्ने मानिसहरुचाहिं यत्रतत्र पाइन्छन्, जसमा मानवता र अन्य मानवसुलभ गुणहरु भेट्नु असम्भवप्राय हुन्छ । तिनीहरुबाट आम मानिसहरु त्रस्त भइरहने अवस्था छ ।
केही दर्जन, केही सय वा हजार मानिसलाई त्राहिमाम पार्ने वा तिनको जीवन तहसनहस पार्ने खलनायकहरु समाजमा गनिसाध्य छैनन् । तिनबारे एकाधको चर्चा यदाकदा मिडियामा हुन्छ, अनि मानिसहरुले बिर्सन्छन् र सबै काम यथावत् हुन्छ । जब कुनै खलनायकले आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरिसकेको हुन्छ, उसले राज्यका विभिन्न अंगहरु, खास गरी राजनीतिक नेतृत्व, प्रहरी संयन्त्र, कर्मचारीतन्त्र र कतिपय अवस्थामा त न्यायालयमा समेत यस्तो सम्बन्ध विकसित गरिसकेको हुन्छ कि ऊ कानुनको दायरामा आएर दण्डित हुने सम्भावना व्यवहारिक रुपमा शुन्यको नजिक हुन्छ, उजस्तै अर्को प्रतिस्पर्धीले मार्ने वा उसको प्रयोजन सकिएपछि वा उसले विद्रोह गरेको खण्डमा राजनीतिक नेतृत्वले प्रहरी लगाएर नक्कली भिडन्तमा मार्ने कुरा फरक हो ।
त्यस्ता खलनायकहरु समाजका लागि घातक त छन् नै तर तीभन्दा घातक खलनायकहरुको अर्को वर्ग छ, जसले हजार नभएर लाखौंको संख्यामा मानिसहरुलाई प्रताडित गर्छन् । तीमध्ये बहूसंख्यक खलनायकहरुले राजनीतिको खोल ओढेका छन् भने अल्पसंख्यकहरुले विभिन्न पेशाको । तिनका एक वा केही कदमका कारण लाखौं बालबालिका स्तरीय शिक्षाबाट वञ्चित हुनसक्छन् भने करोडौं मानिसहरु स्तरीय स्वास्थ्य सेवाबाट ।
……….
भन्छन्, धेरै खायो भने गुँड पनि तितो हुन्छ । त्यो वास्तविकता हो । गुँड गुलियो तब हुन्छ जब यसको आफ्नो गुलियोपना महसुस गर्नका लागि जिब्रोमा रहेका टेस्ट बड भनिने सुक्ष्म अंगहरु उपलब्ध हुन्छन् । एकैचोटि धेरै गुँड मुखमा हाल्यो भने ती अंगहरुले स्वाद लिन सक्ने क्षमताभन्दा धेरै गुना गुँडका सुक्ष्म टुक्राहरु एकसाथ त्यहाँ पुग्छन् र तिनले त्यो स्वादलाई गुलियो भनेर ठम्याउन सक्दैनन् ।मानवीय संवेदनालाई घात पुर्याउने गतिविधि निरन्तर भइरहे भने समाजले पनि बिस्तारै गुलियो र तितो छुट्याउने क्षमता गुमाउँछ, त्यसलाई मानवीय संवेदनविहीनताको अवस्था भनिन्छ । सामाजिक र राष्ट्रिय मुद्दाहरुमा चिन्ता लिइरहने र सबैको भलो चाहने मानिसहरु पनि खास अवस्थामा पुगेपछि अब यहाँ केही हुन सक्दैन भनेर विरक्त हुन्छन् र या त देश छाड्छन्, या त यथास्थितिलाई तिक्ततापूर्वक स्वीकारेर चुपचाप जे हुन्छ, त्यसलाई स्वीकारेर बस्छन् । यस्तो अवस्थामा मानिसहरु तथ्य र प्रमाणमा पनि विश्वास गुमाउँदै गएर अब यहाँ खराबबाहेक केही हुन सक्दैन, त्यसैले त्यसका लागि तयार भएर बसौं भन्ने प्रवृत्ति देखाउँछन् ।समाजका आम खलनायकहरुले यो अवस्थाको फाइदा उठाउँदै मानिसहरुमा थप असुरक्षा र विरक्ति जन्माउँदै आफ्नो धन्दा कायम गरिरहन्छन् । वर्षौं चलेपछि यो दुश्चक्र एउटा स्वभाविक प्रक्रियाजस्तो लाग्छ ।
……….
तर स्वभाविक मानिएको यही प्रक्रियाकै कारणले परिवारको कसैको ज्यान गयो भने के हुन्छ? रोइकराइ, शोक र क्षणिक क्रोध अनि यथास्थितिमा फिर्ती ।
यो निसासलाग्दो परिस्थितिमा समाजलाई समष्टिमा संकटमा धकेल्दै गरेका तत्वहरु सजिलै देखा पर्दैनन् र हामी हेर्न पनि चाहँदैनौं । जे तत्काल र आँखाअगाडि देखिन्छ, हामी त्यही र त्यही मात्र हेर्छौं । बस पल्ट्योः एउटा चालक मात्र दोषी, जहाज खस्योः एउटा पाइलट दोषी, एउटा विद्यार्थी दुव्र्यसनमा पर्योः एउटा स्कुल र शिक्षक दोषी, बिरामी मर्योः एउटा डाक्टर दोषी । तिनका काँधमा दोष थोपरेर आफूलाई कुनै अप्रत्यक्ष जवाफदेहिताबाट मुक्त गर्नमै हामी सन्तुष्ट छौं ।
उही विषयमा, उस्तै निचोडका दर्जनौं लेख लेखेर आम पाठकहरुसम्म पुर्याउँदा पनि त्यो खास विषयमा मानिसहरुको संवेदनशीलताको उस्तै खडेरी देख्दा कहिलेकाहीं लाग्छः कतै मेरो आफ्नै दृष्टदोषका कारण मैले समाजका आम समस्याहरुबाट बढी चिन्तित भएको त हैन? सारा कमी कमजोरीका बाबजुद पनि कतै समाज मैले अनुमान गरेविपरीत समृद्धि र प्रगतिको बाटोमै त हिंडिरहेको त छैन ? अर्कोतिर यस्तो पनि लाग्छः ल समाज दुर्गतिको ओरालो बाटो नै लाग्यो, समाजको प्रचण्ड बहुमत त्यसका लागि मानसिक रुपमा तयार छ भने शक्तिशाली र भयावह नेतृत्वसित दुश्मनी मोल्नुको सट्टा कतै भीडको पछि लाग्नु नै बुद्धिमत्ता त हैन ?
तर जब खलनायकहरु निर्लज्जताको पराकाष्ठा नाघेर आपराधिकताको अर्को खुड्किल्लो उक्लिन्छन्, असह्य हुन्छ र सबै होशियारी त्यागेर म लेख्न बस्छु ।
पछिल्लो समय भावी पुस्तालाई रोग र अकाल मृत्यूको शिकार बनाउन उद्यत् कथित स्वास्थ्य मन्त्री र तिनका कारिन्दा त्रिवि का उपकुलपतिले चटक भन्न सुहाउने गतिविधिहरुमार्फत् नेपालीहरुको भविष्यमा अर्को एकपटक निर्ममतापूर्वक बञ्चरो चलाएका छन् । अघिल्लो पटक एमालेकरण भनिने प्रवृत्तिबारे खोतल्दा नेपालका सबैजसो सार्वजनिक स्वास्थ्य संस्थाहरुलाई धराशायी गरेका भनेर स्वास्थ्यमन्त्रीको र त्रिविमा खुलेआम प्राज्ञिक वेश्यावृत्ति गर्दै एमाले दलको निहित स्वार्थका लागि लाखौं नेपाली विद्यार्थीहरुको भविष्य डाँवाडोल पारेको भनेर उपकुलपतिको नाम आएको थियो । त्यसअघि त्रि वि शिक्षण अस्पताल र आइओएमलाई जीवित राख्न भएका संघर्षहरु र तिनका क्रममा राजनीतिज्ञहरुबाट भोग्नुपरेको धोखाधडीबारे लेखिएका दर्जनौं सामाग्रीहरुमा त मुुख्य खलनायकको भुमिकामा दुवैजना हाजिर छँदैछन् ।
तिनको पछिल्लो कदम के भने, स्वास्थ्यमन्त्रीले नेपाल मेडिकल काउन्सिलले पछिल्लो समय केही निजी मेडिकल कलेजहरुको एमबीबीएस र बीडीएस कोर्सहरुको घटाएको सीट नबढाएमा काउन्सिललाई नै विघटन गर्ने धम्की दिएका छन् । अनियमितताको वहानामा एउटा कथित समितिको औपचारिकता पूरा गरेर एकतिर जिम्मेवार मन्त्रीजस्तो देखिने अर्कोतिर आन्तरिक रुपमा निजी मेडिकल कलेजहरुसित साँठगाँठ गरेर (त्यसमा कतिको लेनदेन छ, त्यो उनी नै जानुन् तर त्यो सस्तो कारोबार पक्कै छैन) उनीहरुलाई सीट बढाइदिने आश्वासन दिने दोहोरो भुमिका स्पष्ट खेलेका छन् यी चुनाव नजिती बम्परमा मन्त्री भएका व्यक्ति ।
एउटा मन्त्रीको आर्थिक हितका लागि देशको चिकित्सा शिक्षा र सेवा दुवैको नेतृत्वदायी र नियामक निकाय भंग हुनुपर्ने? चुनाव हारेर भागवण्डाबाट मन्त्री भएको, राजनीतिक जालझेलबाहेक सम्बन्धित क्षेत्रको ज्ञान शुन्य भएको व्यक्तिले देशभरका चिकित्सकहरुबाट निर्वाचित भएर गएका नेतृत्वदायी चिकित्सकहरुप्रति नोकरको जस्तो व्यवहार गर्दै तिनलाई आफ्नो कर्तव्यबाट चुक्न बाध्य पार्ने? अहिले उनको यो प्रयास सफल हुनु भनेको भोलि नेपालमा योग्य चिकित्सक कसरी बनाउने भन्ने निर्णय बाँसबारीको काउन्सिलमा हैन बल्खु, सानेपा वा पेरिसडाँडाका पार्टी कार्यालयहरुमा हुनु हो । चिकित्सकहरुको यत्रो प्रतिरोध र व्यवधान हुँदा त यिनले चिकित्सा शिक्षालाई सुपारी तस्करीजस्तै खाली कमाइको भाँडो बनाइसकेका छन्, त्यो पनि पार गरे भने अझ के के गर्लान् ?
यी खलनायकका सबै गतिविधि यो छोटो आलेखमा ल्याउनु सम्भव छैन तर निर्लज्ज रुपमा केही धनाढ्यहरुको हितका लागि यिनले स्वास्थ्य मन्त्रालयको कुर्सी दुरुपयोग गरेको यो पहिलोपल्ट हैन । अघिल्लो महिना मात्र यिनले धरानको बिपी प्रतिष्ठान पुगेर त्यहाँको सिनेटबाट निजी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउनुपर्ने निर्णय गराउने निर्लज्ज प्रयास गरेका थिए, जबकि नयाँ राष्ट्रिय चिकित्सा शिक्षा नीति र केन्द्रीय चिकित्सा विश्वविद्यालय निर्माण नगरी नयाँ सम्बन्धन नदिने भनेर नेपाल सरकारले नै विगतमा सार्वजनिक प्रतिबद्धता गरिसकेको छ । यिनकै अर्की निर्लज्ज सहकर्मी तथा छिमेकी दल कांग्रेसकी मन्त्री चित्रलेखा यादवले त त्रि वि लाई एमाले पार्टीको एउटा निजी संस्थालाई मेडिकल कलेजको रुपमा तुरुन्तै सम्बन्धन दिनु भन्ने व्यहोराको चिठ्ठी लखेर आफ्नो हैसियत उदांगो बनाइसकेकी छन् ।
अर्कोतिर तत्काल त्रिवि अन्तर्गतको आइओएमलाई अधिकतम स्वायत्तता दिने र अन्ततः अलग्गै चिकित्सा विश्वविद्यालयको स्थापना हुन दिने भनेर विगतमा भएको सम्झौतालाई धोती लगाउँदै त्रिविले त्यस खालको सीमित स्वायत्तताको बाटो त खोलेन नै, अब नाटकीय रुपमा महाराजगञ्जबाट आइओएमका स्नातकसम्मका सबै कार्यक्रम कीर्तिपुरमा सारेर बिरामी नदेखाई चिकित्सक उत्पादन गर्ने बौलठ्ठीपूर्ण कार्ययोजना प्रस्तुत गरेका छन्, उपकुलपतिले ।
त्यो योजना हेर्दा होशमा बनाइएको हो कि बेहोशीमा छुट्याउन गाह्रो छ तर विभिन्न किसिमका चटक देखाउनमा पोख्त यी विद्वान्ले कसको निर्देशन वा आदेशमा हो, त्यो असम्भव कर्मका लागि दुई ठूल्ठूला नाम भएका समिति बनाएर त्रि वि शिक्षण अस्पतालका चिकित्सक र पदाधिकारीसमेतलाई ती समितिमा राखेर दुइटा पत्र डिन कार्यालयमा पठाइसकेका छन् ।
एक हिसाबले हेर्दा यो उपकुलपतिको चिकित्सकहरुसित बदला लिने र कीर्तिपुरबाट असीमित नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिएर अकुत धनराशि जम्मा गर्ने आपत्कालीन उपायजस्तो लाग्छ । कीर्तिपुरमा रहेको नाम मात्रको एउटा कुनै अस्पतालसित सहकार्य गरेर गरिने भनेको त्यस्तो स्थानान्तरणमार्फत् अन्य निजी मेडिकल कलेजजस्तै विना सिकाइ चिकित्सकहरु र अन्य स्वस्थ्य जनशक्ति उत्पादन गर्ने र तिनको कमजोरीमा खेल्ने यो हास्यास्पद योजना हीराबहादुर महर्जन एक्लैको हुनु सम्भव छैन । एउटै दलका मतियार भएकाले व्युत्पन्नपतिका धनी स्वास्थ्य मन्त्रीको यसमा पनि अप्रत्यक्ष संलग्नता हुने सम्भावना धेरै छ ।
तर दुवैले बिर्सेको कुरा के छ भने चार दशकभन्दा बढी समयसम्म निरन्तर बिस्तार र विकास भएर महाराजगञ्जस्थित अस्पताल जुन अवस्थामा पुगेको छ, एउटा बेनाम अस्पताललाई त्यो अवस्थामा पुर्याउन यही स्थितिमा अरु चार दशक नै लाग्ने देखिन्छ । तबसम्मका लागि यी मानसिक रुपमा विचलितहरुको गुरुयोजना के हो? एउटा सुई नलगाई डिग्री पाउने नर्सहरु? एउटा जाँच नगरी डिग्री पाउने ल्याब जनशक्ति? एउटा सीटीस्क्यान नदेखी डिग्री पाउने रेडियोलोजी प्राविधिक? एकाध बिरामी जाँच्न नपाई डिग्री पाउने चिकित्सक ?
नेपालमा खलनायकहरुको कमी छैन तर यिनीहरुको दुस्साहस देखदा लाग्छ, आजैका दिनमा बाँकी सबै खलनायकहरुको शेष हुने हो भने पनि यी दुईजना रहेसम्म यिनीहरुले ती सबैको अभाव पुर्ति गर्नेछन् ।
हेर्दा हास्यास्पद लाग्ने यिनका गुरु योजनाहरु वास्तवमा ठट्टाका विषय नभएर समाज र राष्ट्रको भविष्यका लागि अहम् महत्वका धरापहरु हुन् । अझै पनि दुवै जना आ—आफ्नो गुरु योजनामा सफल हुने सम्भावना टड्कारो छ किनकि देशको समग्र शक्तिको डाडुपन्यू तिनकै हातमा छ । साथै एकम् लज्जा परित्यज्य सर्वत्र विजयी भवेत् भने झैं लाज लाग्ने अवस्थालाई पार गरिसकेका यी महामानवहरु व्यक्तिगत जीवनमा जस्ता उपलब्धि हासिल गर्न पनि सक्षम छन् । र उनीहरुको व्यक्तिगत लाभको आकांक्षा पूरा हुनु भनेकै नेपालीहरुको सिंगो भावी पुस्ताका लागि कमसल स्वास्थ्य सेवा र अकाल मृत्यूको सुनिश्चितता हो ।
यी दुइ खलनायकहरुको आर्थिक हित माथि की करोड़ों नेपालीहरुको स्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पाउने अधिकार माथि ? मेरो सोझो सोचले भन्छ: पछिल्लो कुरा बढ़ी महत्वपूर्ण। तर मैले तिनको निंदा गर्नमा लाखौं शब्द खर्चे पनि र ठोस प्रमाणका आधारमा तिनलाई दोषी देखाउने गरी शोध गरे पनि भोली नेपालीहरुले खगराज अधिकारीलाइ चुनावमा बिजयी बनाउनेछन्, हराइहाले चोर बाटोबाट तिनलाई के पी ओलिले मन्त्री बनाई छाड्नेछन्। भविष्यका तिनै पुरस्कारहरुको मोहमा परेरै यी अधिकारीले अहिले दलको आर्थिक हितका लागि देशको सिंगो जनसंख्या को स्वास्थ्यमा खेलवाड़ गरिरहेका छन्। अर्कोतिर हीरा बहादुर महर्जन कुन दिन एमालेबाट अनिर्वाचित मंत्री बन्ने हून् , त्यो पनि हेर्न बांकी नै छ।
त्यति हुँदाहुँदै पनि, आम मानिसको बलिदानी बाट प्राप्त बोल्ने र लेख्ने अधिकार कायम रहुन्जेल देशको यत्रो कंतबीजोग हेरेर बस्न पनि नसकिने। यी खलनायकहरु पदबाट झर्दा त्यहाँ अकस्मात् नायकहरुको उदय होला भनेर सपना देख्ने स्थिति त छैन तैपनि यिनमा भन्दा कम दुस्साहस र आपरधिकता भएका मानिसहरु आए भने केहि भए पनि अवस्था सुध्रिएला भन्ने झिनो आसाचहिं जीवितै छ। महर्जन त आफ्नो उपकुलपति कालको अन्ततिर छन् तर कार्यसम्पादन हेर्दा अधिकारी ले अझ धेरै वर्ष नेपालको स्वास्थ्य मंत्रालय पाईरहलान् जस्तो छ। यथास्थिति कायम रहने हो भने यिनले नेपालीहरुको औसत आयु धेरै वर्षले घटाई दिने छन्। खैर, नेपालीहरुले चाहेको व्यवस्था नै यस्तो हो भने के पो गर्न सकिन्छ र ?