काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको उपस्थितिमा फाउन्डेसन नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले शक्रबार कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।
फाउन्डेसनले नेपालमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ। कोरोना महामारी सुरु भएदेखिनै फाउन्डेसले तत्काल आवश्यक पर्ने स्वास्थ्य सामग्रीदेखि दीर्घकालसम्म प्रयोगमा आउने ठूला प्रोजेक्टमा समेत सहयोग गरेको छ।
कोशीलाई हस्तान्तरण गरिएको प्लान्टबाट दैनिक एक सयभन्दा बढी सिलिन्डर अक्सिजन भर्न सकिने डा बस्नेतले जानकारी दिए।
फाउन्डेसनले यसअघि त्रिवि शिक्षण अस्पताललाई पनि फाउन्डेसनले अक्सिजन प्लान्ट सहयोग गरेको थियो।
फाउन्डेसनले सबै प्रदेशलाई एक–एक वटा अक्सिजन प्लान्ट दिने योजनाको साथ दुई वर्षअघि नै कार्यक्रम सुरु गरेको हो।
डा बस्नेतका अनुसार अहिले लुम्बिनी प्रदेशको पाल्पा मिसन अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ। थप तीन वटा प्लान्ट आउने क्रममा छ। उक्त अक्सिजन प्लान्ट जनकपुर, बुटवल र काठमाडौंमा राख्ने योजना भएको उनले जानकारी दिए।