मकवानपुर - मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको छ। नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्ति सुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो।
कार्यालद्वारा जारी सुरक्षा योजना अनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवत जावतका क्रममा यात्रु ठगिने अवस्था आउन नदिन तथा हैरानी हुने अवस्था आउन नदिन हेटाँैडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकी टोलमा रहेको सुमो काउन्टरमा ट्राफिक सहितको चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिने बताइएको छ।
यसैगरी ट्राफिकमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकरी भरतमणि पाण्डेले बताए। त्यस्तै कोभिड सङ्क्रमणको जोखिमीलाई ध्यानमा राखी सबै प्रकारका मेला, महोत्सव ,साङ्गीतिक कार्यक्रम, चिठ्ठा बिक्री वितरण एवं चिठ्ठा खोल्ने कार्यक्रममा पूर्ण रोक लगाइने भएको छ।
जुवा, तास र कौडा खेल्ने कार्य रोक्नाका लागि निरन्तर अनुगमन गरिने र मठमन्दिर लगायत अन्य धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी गराउन भिडभाड नहुने स्थिति सिर्जना गरिने बताइएको। सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन पनि कार्यालयले अनुरोध गरेको छ। रासस