काठमाडौं- गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा २५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २२२ जना रहेका छन्। यसैगरी, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर भने ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ। सोही अवधिमा १ हजार ४०५ जना संक्रमित कोरोनामुक्त भएका छन्।