काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार निर्माण भएको ८७ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बालुवाटारमा आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठकमा असोज २१ गते मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो।
‘आज नै मन्त्रिपरिषद्लाई विस्तार गरौं भन्ने थियो, तर प्रधानमन्त्रीज्यूले असोज २१ गते घटनास्थापनाको दिन पनि भएकाले सोही दिन गरौं भन्नुभयो,’ गठबन्धन दलका एक नेताले भने,‘अब त्यसै दिन मन्त्रिपरिषद् विस्तार हुन्छ।’
सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा करिबकरिब सहमति जुटेको छ। मंगलबार पनि गठबन्धनका दलहरुको बैठक बसेको थियो। सो बैठकपछि गठबन्धनमा आबद्ध दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम लगभग टुंगिएको नेताहरुको भनाइ छ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने सहमति जुटेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले बताए।
कांग्रेसको तर्फबाट यसअघि नै प्रधानमन्त्री, तीन मन्त्री र एक राज्यमन्त्री बनिसकेका छन्। सो पार्टीबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ बनेका हुन्।
को होला स्वास्थ्यमन्त्री?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिले राज्यमन्त्री मात्र नियुक्त भएको अवस्था छ। २१ गते हुने मन्त्रिपरिषद विस्तारमा स्वास्थ्यमा पूर्ण मन्त्री को होला? बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा र प्रधानमन्त्री पत्नि आरजु राणा हालका राज्यमन्त्री उमेश श्रेष्ठलाई नै मन्त्री बनाउने तयारीमा छन्।
तर डा गोविन्द केसीले राज्यमन्त्री श्रेष्ठका विषयमा विरोध गरेका कारण केही नेताले भने भोलिका दिनमा विरोध हुन सक्ने भन्दै अन्य व्यक्तिलाई नै मन्त्री बनाउन सुझाब दिएका छन्।
'स्वास्थ्यमन्त्री को हुन्छ भन्ने कुरा अझै अन्यौलमा नै छ' बालुवाटार स्रोतले भन्यो, 'अब २१ गतेसम्म नै कुर्नुपर्ला।'
मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट दुई मन्त्रीहरु यसअघि नियुक्त भइसकेका छन्। असार २९ मै पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएक थिए।
गठबन्धनका दलहरुबीच मंगलबार भएको छलफलबाट कांग्रेसले समग्रमा ६ वटा र अन्य तीन दलले ५–५ वटा मन्त्रालय पाउने सहमति भएको नेताहरुको भनाइ छ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा आलोचना भइरहेको छ।