काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा देखिएको झाडापखाला नियन्त्रण तथा रोकथामका लागि चिकित्सक सहितको टोली परिचालन गरेको छ।
झाडापखालाको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आवश्यक औषधि तथा सामग्री र चिकित्सक सहितको टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
महाशाखाबाट इपिडिमियोलोजिष्ट डा शशी कडेल, कोशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा रबिन गौतम कपिलवस्तु पुगेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। असोज १८ गते बेलुकीदेखि कृष्णनगर नगरपालिकाको वडा नं ३, ४, ७, ८, ९ र १२ मा झाडापखाला तथा बान्ताका बिरामीहरु देखिएको थियो।
बिरामीको शिवराज अस्पतालमा उपचार भइरहेको छ। हालसम्म ३७० जना बिरामीले भर्ना भएर उपचार गरेका छन्। जसमध्ये २२८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने हाल ११० जना उपचाररत रहेको र ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको मन्त्रालयले जनाएको छ। हाल समस्या केही नियन्त्रणमा रहेको डा पौडेलले जानकारी दिए।
उनले भने, ‘हिजोको भन्दा नयाँ केसहरु घटेका छन्। केही नियन्त्रणमा पनि छ।’
५ जना बिरामीको दिशाको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण भइरहेको र नतिजा आउन बाँकी छ। प्रभावित क्षेत्रमा हालसम्म ५० हजार क्लोरिन ट्याबेलट समेत पुर्याइसकिएको डा पौडेलले जानकारी दिए। हाल आफूहरु जिल्ला र प्रदेशसँग निरन्तर सम्पर्क र समन्वयमा रहेको उनले बताए।
‘हामी जिल्ला र प्रदेश सबैसँग समन्वय र सम्पर्कमा छौँ। साथै हामी हाइ अर्लटमा पनि छौँ’ उनले भने।