काठमाडौँ - आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेसँगै आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरी शपथ गराउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको हो।
बिहीबारको बैठकमा जुटेको ’सैद्धान्तिक सहमति’अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री मन्त्री बन्ने सम्भावना रहेको छ।
योसँगै नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ राज्यमन्त्रीबाट हट्ने भएका छन्। उनी साउन १० गते राज्यमन्त्री नियुक्त भएका थिए। स्वास्थ्य राज्यमन्त्री भएको ७५ दिनमा उनी जिम्मेवारीबाट हट्ने भएका हुन्।
बालुवाटार स्रोतका अनुसार श्रेष्ठलाई अन्य मन्त्रालयमा सरुवा गर्ने वा जिम्मेवारी नै नदिने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन। प्रधानमन्त्री देउवा उनलाई अन्य मन्त्रालयमा सरुवा गर्ने तयारीमा छन्। तर दलका अन्य नेताहरुले अरुलाई पनि अवसर दिनु पर्ने भन्दै श्रेष्ठलाई अन्य मन्त्रालयमा सरुवा गर्न मानिरहेका छैनन्।
शिक्षा र स्वास्थ्य क्षेत्रका व्यवसायी श्रेष्ठलाई राज्यमन्त्री बनाएपछि प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको थियो। डा गोविन्द केसीले उनलाई हटाउनु पर्ने माग राख्दै आएका छन्।