काठमाडौं- सरकारी चिकित्सक संघले स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा आरपी बिच्छाको बिना कारण सेवा म्याद थपेको भन्दै विरोध गरेको छ।
संघ प्रेस विज्ञप्ति जारी गर्दै सरकारले एक व्यक्ति केन्द्रित भएर नियमको गलत व्याख्या गर्दै महानिर्देशकको सेवा म्याद थपेको भन्दै गम्भीर ध्यानाकर्षक भएको उल्लेख गरेको छ।
‘कुनै विशेषज्ञको विज्ञता राष्ट्रलाई आवश्यक भएकोमा निजको अवधि थप गर्नु र निजको विज्ञताको सदुपयोग गरिनु स्वागत लायक हुन सक्छ तर विज्ञताको नाममा कार्यकारी पद नै सुम्पिन खोज्नु हास्यास्पद एवं मनसाय पूणृ छ। यसले महानिर्देशक हुन योग्यता पुगेका अन्य कर्मचारीलाई निराश र निरुत्साहित मात्र पारेको छैन कि अनुभव, लक्ष्य, पद्धति आदि सबैको धज्जी उडाएको छ, ’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारले यही कात्तिक ६ गते सेवा अवधि सकिन लागेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छाको सेवा म्याद २ वर्ष थप्ने निर्णय गरेको थियो।
संघले विभागको महानिर्देशकमा नियमानुसार योग्यातको आधार उपयुक्त व्यक्ति नियुक्त गर्न र हाल पद दिइएका व्यक्ति राष्ट्रलाई आवश्यक भए उनको विज्ञत अनुसारकै सेवा गर्ने मौका दिन सरकारसँग माग गरेको छ।
