काठमाडौं– नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडालाई पठाउने भएको छ।
बिहीबार रातिको निर्णयलाई परिमार्जन गर्दै समाजवादीले सरकारमा सहभागी हुने नेताहरुको मन्त्रालय (जिम्मेवारी) हेरफेर गर्दै खतिवडालाई स्वास्थ्य मन्त्रीको रुपमा पठाउने निर्णय गरेको हो।
समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानी प्रसाद खापुङलाई पठाउने निर्णय भएको छ।
यसअघि बिहीबार राति अध्यक्ष माधव कुमार नेपाल तथा महासचिव बेदुराम भुसालसहितका नेताहरुको बैठकले खतिवडाको नेतृत्वमा ४ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निर्णय गरेको थियो।
बिहीबार राति नेता रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो। तर, राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने खापुङले स्वास्थ्य मन्त्रालयमा नै जान चाहेको र नेता झाँक्रीको मातहत 'बस्न नसकिने' भनेपछि बिहीबारको निर्णयमा हेरफेर गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।
नेताहरु किशानलाल श्रेष्ठले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् भने प्रेम आलेले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। रामकुमारी झाँक्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन्।