काठमाडौं- मन्त्रिपरिषद विस्तारसँगै जिम्मेवारी हेरफेर भएपछि राज्यमन्त्री उमेश श्रेष्ठले प्रधानमन्त्री र पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्ने प्रतिक्रिया दिएका छन्।
राज्यमन्त्री श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लगिएको छ। उक्त निर्णयपछि राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अलग भएको जानकारी दिएका हुन्।
'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग भएको छु। उक्त जिम्मेवारीमा छँदा यहाँहरुको सहयोग, सुझाव, आलोचना तथा हौसलाका लागि हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु। आगामी दिनमा सम्मानीय प्रधानमन्त्रीज्यू र पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्नेछु,' राज्यमन्त्री श्रेष्ठले लेखेका छन्।
श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा ७५ दिन अघि नियुक्त भएका थिए।