काठमाडौं- काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु १५ लाख सहयोग गर्ने भएको छ।
महानगरपालिकाकोतर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकोतर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सहयोग पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्।
सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चिकित्सक र बिरामी दुवैको आत्मविश्वास बढाउनका लागि सहयोग गरिएको उल्लेख गर्दै आत्मविश्वासले रोग छिटो निको हुने बताए।
उनले प्रसिद्ध धार्मिक तथा एतिहासिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि रु एक करोड र सार्वजनिक ठाउँमा हरियाली पार्क निर्माणका लागि रु एक करोड यसअघि नै महानगरपालिकाले सहयोग गरिसकेको जानकारी दिए।
अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले अस्पतालको क्षमता विकास भएपछि काठमाडौँ, ललितपुर र मकवानपुरका बिरामीलाई उपचारमा सहज हुने विश्वास व्यक्त गरे। सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन रु १५ लाख अनुदान दिनेछ। अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ। सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ। नगर साझेदारी कार्यक्रमअन्तर्गत सो सहयोग प्रदान गरिएको महानगरपालिकाले जनाएको छ। रासस