काठमाडौं– सरकारले सातै प्रदेशमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइ दिने व्यवस्था सुरु गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै सातै प्रदेशमा रेबिज विरुद्धको इम्युनोग्लोबुलिन सुइको व्यवस्था गर्न लागिएको जानकारी दिएको हो।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले सन् २०३० सम्ममा विश्वमै रेबिजविरुद्ध हुने मानव मृत्यु शुन्यमा झार्ने उद्देश्य पुरा गर्न इम्युनोग्लोबुलिन सुइको व्यवस्था प्रदेशहरुमा पनि गर्न लागिएको जानकारी दिए।
मन्त्री खतिवडाका अनुसार प्रदेश १ को विराटनगरमा रहेको कोशी अस्पताल, प्रदेश २ को धनुषामा रहेको जनकपुर अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र भरतपुर अस्पताल चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिको सेती प्रादेशिक अस्पताल धनगढीमा सो सुइको व्यवस्था गर्न लागिएको हो।
ती अस्पतालहरुमा मंसिर ५ गतेदेखि रेबिज विरुद्धको इम्युनोग्लोबुलिन सुइ व्यवस्था गर्न लागिएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनुसार इम्युनोग्लोबुलिन एउटा औषधि हो। जुन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरि सुइको माध्यमले लगाइन्छ।
एक वा एक भन्दा बढी घाउ हुने गरि जनावरले टोकेमा, ठूलो घाउ हुनेगरी टोकेमा, म्यूकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज संकास्पद जनावरको र्याल परेमा वा अनुहार र हातमा टोकेमा बिरामीलाई इम्युनोग्लोबुलिन सुइ लगाइने डा पौडेको भनाइ छ।
उनका अनुसार हाल नेपालमा वार्षिक १५ देखि २० जना व्यक्तिको मृत्यु रेबिजका कारण हुने गरेको छ। यो मृत्युदरलाई शून्यमा झार्न पनि इम्युनोग्लोबुलिन सुइ प्रभावकारी हुनसक्ने डा पोडेलको भनाइ छ।
यो पनि:
जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' सुइ के हो? कस्तो अवस्थामा लगाइन्छ र कस्तोमा लगाउनु हुँदैन?