ओहो! तपाईंको अनुहारमा टोकेको रहेछ तुरुन्त टेकु अस्पतालमा गएर एउटा सुइ (रेबिज इम्युनोग्लोबुलिन) लगाइ हाल्नुपर्दछ।घाइते बिरामी भोलिपल्ट बिमान चढेर 'रेबिज इम्युनोग्लोबुलिन' लगाउन आइपुगेका थिए। यो घटना केहि समय अगाडि काठमाडौं बाहिरका एक व्यक्तिलाई कुकुरले टोकेपछि चिकित्सकले दिएको सल्लाह अनुसार टेकु अस्पताल आइपुगेका व्यक्तिको हो।
तर यदी 'रेबिज इम्युनोग्लोबुलिन' सो ठाउँमा उपलब्ध भइदिएको भए ती घाइते बिरामी बिमान चढेर काठमाडौंसम्म आउनु पर्दैनथ्यो। आर्थिक तथा मानसिक तनाव पनि बेहोर्नु पर्दैनथ्यो। अहिले पनि नेपालको कुनै पनि ठाउँमा जनावरले टोकेर "रेबिज इम्युनोग्लोबुलिन" आवश्यक पर्ने अवस्था भए सिधै काठमाडौंस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पठाउनु पर्ने बाध्यता छ। यस अस्पतालले केहि दिन अगाडि देखि यो सुइ दिने सेवा चौबिसै घण्टा शुरु गरिसकेको छ।
जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' सुइ के हो?
कतिपय घाइतेहरुका टोकाइ/घाउहरु अति गम्भीर प्रकृतिका हुने गर्दछन्। यस्तो अवस्थामा भाइरस तीब्र गतिमा शरीर भित्र प्रवेश गर्न सक्दछ। एन्टीरेबिज खोपलाई काम गर्न कम्तिमा एक हप्ता लाग्ने गर्दछ। यो बिचको अवधिमा भाइरस नसा भित्र प्रवेश गर्न सक्ने भएकोले 'रेबिज इम्युनोग्लोबुलिन' सुइको आवश्यकता पर्ने गर्दछ। यो सुइ घाउको वरिपरि दिने गरिन्छ र त्यहाँ रेबिजको भाइरस भए तत्काल निष्क्रिय पारिदिन्छ।
टोकाइ/घाउहरु अति गम्भीर प्रकृतिका छन् भने एन्टीरेबिज खोप मात्र लगाएर घाइतेलाई बचाउन सकिँदैन। केहि बर्ष अगाडि तराईमा एक बहुला स्यालले लगभग पचास जनालाई टोकेर घाइते बनाएको थियो। त्यसमा कतिपयका अनुहारमा गहिरो चोट थियो। नजिकै औषधी पसलमा गएर एन्टीरेबिज खोप त लगाए तर 'रेबिज इम्युनोग्लोबुलिन' तत्काल लगाउन नपाउँदा केहीको मृत्यु समेत भएको लेखकको स्मरणमा अहिले पनि ताजै छ। तसर्थ यसलाई 'जीवनरक्षक' सुइ भन्दा अत्युक्ति नहोला।
'रेबिज इम्युनोग्लोबुलिन' सुइ कस्तो अवस्थामा लगाइन्छ र कस्तो अवस्थामा लगाउनु हुँदैन?
जनावरले टोकेमा घाउलाई पहिलो, दोश्रो र तेश्रो गरी तीन क्याटगरिमा बर्गिकरण गरिएको हुन्छ। जटिल प्रकृतिको घाउलाई तेश्रो क्याटगरिमा राखिन्छ र यही क्याटगरिलाई 'रेबिज इम्युनोग्लोबुलिन' सुइ लगाउनु पर्दछ। सामान्यतय धेरै तथा गहिरो घाउहरु, हात, टाउको, घाँटी वा संवेदनशील अंगहरुमा टोके 'रेबिज इम्युनोग्लोबुलिन' सुइ तुरुन्त लगाउनु पर्दछ। तर एन्टीरेबिज खोप लगाएको सात दिन पार गरिसकेको र पहिला कुनै समयमा एन्टीरेबिज खोप लगाइसकेका छन् भने 'रेबिज इम्युनोग्लोबुलिन' सुइ दिनु हुँदैन।
गर्भवती महिलामा सुरक्षित छ?
गर्भवती महिलामा पनि यो सुइलाई सुरक्षित मानिन्छ।
'रेबिज इम्युनोग्लोबुलिन' लगाउनु भन्दा अगाडि एलर्जी जाँच गर्नुपर्छ?
'रेबिज इम्युनोग्लोबुलिन' ह्युमन र इक्यिन गरी दुई प्रकारका हुन्छन्। ह्युमन 'रेबिज इम्युनोग्लोबुलिन'को लागि एलर्जी जाँच गरिराख्नु पर्दैन भने इक्यिन 'रेबिज इम्युनोग्लोबुलिन' को जाँच गर्नुपर्छ भन्ने थियो। तर हाल उपलब्ध इक्यिन 'रेबिज इम्युनोग्लोबुलिन' उच्च प्रविधिबाट उत्पादन भइरहेकोले लगाउनु अगाडि अनिवार्य एलर्जी जाँच गर्नु पर्दैन। तर कसै-कसैलाई एनाफिलाक्तिक एलर्जी (जुन कडा एलर्जी मानिन्छ) हुनसक्ने भएकोले आवश्यकता अनुसार तयारी भने अनिवार्य गर्नु पर्दछ। यद्यपि झन्डै दुई दशकको अनुभवमा 'रेबिज इम्युनोग्लोबुलिन' लगाएर कडा स्वास्थ समस्या आएको भने लेखकले देखेको छैन।
'रेबिज इम्युनोग्लोबुलिन' जीवन रक्षक सुइ भएको र तत्काल वा जतिसक्दो चाँडो लगाए मात्र यसको सहि सदुपयोग हुनेछ। अहिले पनि नेपालको कुनै पनि ठाँउमा जनावरले टोके र घाउ/चोट गम्भीर प्रकृतिको हुँदा तुरुन्त राजधानी विशेष गरेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरेको पाइन्छ। सबैसँग भन्ने बित्तिकै राजधानी जान सक्ने आर्थिक अवस्था नहुन पनि सक्दछ। तसर्थ जीवन रक्षक सुइ 'रेबिज इम्युनोग्लोबुलिन' हरेक अस्पतालहरुमा चौबिसै घण्टा आपतकालीन उपचार जस्तै उपलब्ध भए यसबाट हुने मृत्युदर शून्यमा झार्न सकिन्थ्यो।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)