काठमाडौं- विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई ओमीक्रोन नाम दिएको छ। यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
यसलाई अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरियन्ट भएको बताइएको छ। डब्लूएचओले यो भेरियन्टको नाम राख्दै सतर्क रहन चेतावनी दिएको छ। 'यो भेरियन्ट अफ कन्सर्नमा रहेको छ। यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएकाले सतर्क रहन जरुरी छ,' डब्लूएचओले भनेको छ।
वैज्ञानिकहरुले यसलाई ‘डरलाग्दो म्युटेशन’ हुनसक्ने सबैभन्दा खराब भेरियन्ट भनेका छन्। यसका कारण विश्वभर फेरि संक्रमण बढ्ने चिन्ता गरिएको छ। सुरुवाति अनुसन्धानका अनुसार यसबाट संक्रमण फैलिने खतरा बढी रहेको जानकारी प्राप्त भएको पनि डब्लूएचओको भनाइ छ। सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा उक्त भेरियन्टको कोरोना पुष्टि भएको डब्लूएचओको भनाइ छ।
भारतको स्वास्थ्य मन्त्रालयले विभिन्न राज्य र त्यहाँका निकायमा गरेको पत्राचारमा भने यो भाइरस बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा फैलिएको उल्लेख छ।
तर, यो भेरियन्ट अहिले औपचारिक रुपमा भने दक्षिण अफ्रिकामा मात्र भेटिएको बताइएको छ। यसका केही संक्रमित मात्र भेटिए पनि अझ ठूलो रुपमा फैलिसकेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
यो भेरियन्टमा खोपले काम गर्ने वा नगर्ने अध्ययन भइरहेको तर, सजग हुनुपर्ने वैज्ञानिकहरुको भनाइ छ। यसबारे सबै जानकारी फेला नपरीसकेको पनि बताइएको छ।
यो भेरियन्टलाई बी १.१.५२९ नामकरण गरिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार यसलाई औपचारिक नाम दिँदै ओमीक्रोन राखेको हो।
दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले नयाँ म्युटेसनलाई ‘म्युटेसनको असामान्य समूह’ भनेका छन्। उनले यो अन्य भेरियन्टभन्दा बिल्कुलै अलग रहेको समेत बताए। यो भेरियन्टले आफूहरुलाई हैरान गरेको र आफूहरुको आसासमेत बदलिदिएको उनले बताए।
सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यसमा कुल मिलाएर ५० म्युटेशन भएको र ३० भन्दा धेरै म्युटेसन अत्यधिक स्पाइक प्रोटिनमा भएको उनले बताए। यसले खोपमा रहेको प्रोटिनमाथि आक्रमण गर्ने हुँदा यसलाई खतरनाक मानिएको हो। विश्वमा आतंक फैलाएको डेल्टा भरिएन्टमा दुई म्युटेसन भएको थियो।
खोप कति प्रभावकारी?
सबै म्युटेसनको अर्थ यो होइन कि त्यो खराब नै हुन्छ। तर, त्यसमा के म्युटेसन हुन्छ हेरिनुपर्छ। चिन्ताको कुरा यो हो कि जुन भाइरस चीनको वुहानमा फेला पर्यो, त्योभन्दा यो मौलिक रुपमा अलग पाइएको छ। यसको अर्थ वुहानमा फेला परेको भाइरसलाई लक्षित गरेर निर्माण भएको खोपले यो भाइरसलाई अप्रभावी हुन सक्छ।
दक्षिण अफ्रिकामा युनिभर्सिटी अफ क्वाजुलु नटालमा प्राध्यापक रहेका रिचर्ड लेसल्सले यो भाइरस एक अर्कामा छिटो फैलिने क्षमता राख्ने बताए। यो नै चिन्ताको विषय भएको उनको भनाइ छ। यो भाइरस प्रतिरक्षा प्रणालीको हिस्साबाट पनि बच्ने देखिएको उनले बताए।
केही भेरियन्ट यस्ता पनि देखिए जसले ठूलो डर देखायो, तर असर धेरै गरेन। वर्षको सुरुवातमा देखिएको बिटा भेरियन्ट यस्तै थियो। तर, डेल्टा भेरियन्ट विश्वभर फैलियो र यसले धेरै विनास गरायो।