काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण नहुने भएको छ। चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्राली (डिजेपिएल) सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति पाएको थियो।
तर कम्पनीले दुई साताअघि नेपालमा अनुसन्धान गर्न खोप लगायतका अन्य आवश्यक कुरा पठाउन नसकिने भन्दै तेस्रो चरणको अनुसन्धान नेपालमा नहुने जानकारी दिएको हो। कम्पनीको यो निर्णयसँगै नेपालमा एमआरएनए खोपको तेस्रो चरणको अनुसन्नधान नहुने पक्का भएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी अनुसन्धान अधिकृत नमिता घिमिरेले कम्पनीले नै नेपालमा अब अनुसन्धान नगर्ने भनेको जानकारी दिइन्।
'कम्पनीले नै नगर्ने भनेकाले अब नेपालमा उक्त कम्पनीको खोपको तेस्रो चरणको अनुसन्धान नहुने भएको हो,' उनले भनिन्।
मन्त्रिपरिषदको भदौ १० गते बसेको बैठकले उक्त कम्पनीको खोपको परीक्षणका लागि अनुमति दिएको थियो। उक्त भ्याक्सिन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्न लागिएको थियो। वालभ्याक्स कम्पनीले प्रायोजन गरेको भ्याक्सिनलाई देउराली जनता फर्मास्युटिकल्सले लोकल पार्टनरको हिसाबले काम गर्न खोजेको थियो।
नेपालमा उक्त अनुसन्धान गत कात्तिक महिनाभित्र गरिसक्नु पर्ने थियो। तर कम्पनीले नै लामो समय लगाउँदै आएको थियो। अन्तिममा कम्पनीले नेपालमा परीक्षण नै नगर्ने निर्णय गरेको परिषदका एक कर्मचारीले जानकारी दिए।
'कम्पनीले नै यस विषयमा समयमा निर्णय गर्न सकेको थिएन,' ती कर्मचारीले भने, 'पछिल्लो समयमा कोभिडको संक्रमण विश्वभर घट्दै गएको र अब नयाँ भरियन्ट पहिला जसरी नआउने तथा आएपनि उक्त खोपले काम गर्ने हो वा होइन भन्ने अन्यौल भएकाले थप खर्च गर्न नचाहेको देखिन्छ।'
यो पनि:
के हो नेपालमा ट्रायलका लागि अनुमति पाएको 'एमआरएनए भ्याक्सिन'? [अन्तर्वार्ता]