काठमाडौं- बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी सेटिङमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाएको विषयमा छानबिन हुने भएको छ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सिटी स्क्यान खरिदका विषयमा छानबिन गर्न समिति गठन गरेको हो। मुख्यमन्त्री कार्यालयले सिटी स्क्यान खरिद प्रक्रियाका विषयमा समाचार प्रकाशित तथा उजुरीहरु आएको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।
बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले कानुनका सहसचिवको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको जानकारी दिए। उनका अनुसार समितिमा प्रदेश लेखा नियन्त्रक र एक जना विज्ञ (बायोमेडिकल इन्जिनियर) सदस्य छन्।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२८ स्लाइस क्षमताको पाँच वटा सिटी स्क्यान मेसिन एउटा मात्र कम्पनीसँग मिल्ने गरी स्पेसिफिकेसन बनाएर खरिद प्रक्रिया अगाडि बढाएको विषयमा स्वास्थ्यखबरले समाचार प्रकाशित गरेको थियो।
केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि ३२ करोड लागत अनुमान गरेको छ। स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा व्यापारीसँगको मिलेमतोमा तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको पाइएको छ। १२८ क्षमताको सिटी स्क्यानमा न्यूनतम ७ एमएचयूको ट्यूब चाहिन्छ। ८ एमएचयूको ट्यूब हुनु राम्रो मानिन्छ। तर केन्द्रका निमित्त निर्देशक डा अर्जुन सापकोटाले व्यापारीसँगको मिलेमतोमा १२८ क्षमताको सिटीमा पाँच एमएचयूको ट्यूब हुनुपर्ने सर्त राखेका छन्। १२८ मा पाँच एमएचयूको ट्यूब तोसिबा कम्पनीसँग मात्र छ। पाँच एमएचयूको ट्यूब १६ स्लाइसको सिटीमा राख्ने गरिन्छ। तर केन्द्रका निमित्त निर्देशकले भने १२८ स्लाइसको सिटीमा १६ स्लाइसमा मिल्ने गरी सर्त राखेका छन्।
१२८ स्लाइसको सिटीका लागि कुलिङ रेट १५०० हुनुपर्ने बायोमेडिकल इन्जिनियरहरु बताउँछन्। तर केन्द्रले यसका लागि कुलिङ रेट ८०० मात्र तोकेको छ। यस्तै उक्त क्षमताको सिटीका लागि ७० किलोवाट क्षमताको जेनेरेटर चाहिनेमा केन्द्रले ५० किलोवाट क्षमताको हुनुपर्ने भनेर राखेको छ।
यो पनि:
कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी ३२ करोडको पाँच वटा सिटी स्क्यान किन्दै बागमती प्रदेश