अभिभावक बालबालिकाको पहिले र महत्वपूर्ण शिक्षक हुन्। अभिभावकले बोलेका वा गरेका क्रियाकलापबाट नै बालबालिकाले धेरै कुराहरु सिक्ने गर्छन्। हुर्कँदै गरेका बालबालिकाका विषयमा अभिभावकले धेरै कुरामा चनाखो हुन जरुरी हुन्छ। प्राय अभिभावक बच्चाले धेरै र नचाहिने प्रश्न सोधिरहेका कारण रिसाउने तथा गाली गर्ने पनि गर्दछन्। तर त्यो गलत हो। बालबालिकालाई गाली गर्ने तथा सजाय दिनु भनेको उनीहरुमाथि नकारात्मक सन्देश प्रवाह गर्नु हो। त्यसकारण अभिभावकले हुर्किँदै गरेको आफ्नो सन्तानलाई सकारात्मक प्रतिकृया दिएर सुरुदेखि नै राम्रो व्यवहार गर्न सिकाउनुपर्छ। उनीहरुमा अनुसासन र सकारात्म सन्देश प्रवाह गर्नुपर्छ।
बालबालिकालाई गाली र उमेर यति भइसक्यो अब त ठूलो हुनुपर्छ, बुझ्नुपर्छ भन्दै झर्कनु हुँदैन: अभिभावकले आफ्ना सन्तानलाई नराम्रो काम गर्दा अनुशासित भएर बस्न र राम्रो बाटो औंल्याउन सिकाउनुपर्छ। कहिलेकाँही अनुशासित राख्न कडा तथा नकारात्मक तरिका अपनाइन्छ भने कहिलेकाँही सजाय पनि दिइन्छ। अध्ययनका अनुसार बालबालिकालाई यसरी व्यवहार गरे प्रतिकूल व्यवहार देखाउन सक्छन्। उनीहरुलाई गालीभन्दा पनि मायाले सम्झाउने वा बुझाउने गर्नुपर्छ। जो अभिभावकले आफ्ना बच्चालाई पिट्ने र गाली गर्ने गर्छन्, उनीहरु भावनात्मक रुपमा असुरक्षा महसुस गर्छन्। यसका साथै उमेरलाई लिएर तुलना गर्ने तथा झर्कने गर्नुहुँदैन।
यसकारण बालबालिकालाई सकारात्मक प्रतिकृया चाहिन्छ
बालबालिकालाई सकारात्मकरुपमा प्रतिकृया नदिँदा वा उनीहरुलाई राम्रो गर्न नउक्साए उनीहरुको आत्मबल कमजोर हुन्छ।
१. सकारात्मक प्रतिकृयाले बालबालिकाको आत्मबल बढाउँछ
आत्मबलले मानिसको व्यक्तित्व विकास गर्न मद्दत गर्दछ। आत्मबल भए जोखिम मोलेर आफ्नो आरामक्षेत्र बाहिर गएर पनि कार्य गर्न सक्छ, नत्र पछिसम्म यसले सताइरहन्छ।
भविष्यमा केही नयाँ गर्न, काममा जान, साथी बनाउँदा तथा पढाइजस्ता कुरामा पनि यसले असर पार्दछ। त्यसैले सानैबेलादेखि परिवारबाट सकारात्मक प्रतिकृया पाए उनीहरुको आत्मविश्वास बढ्दै जान्छ।
२. सहभागितामा बढावा हुने
बालबालिकाहरु सुरुदेखि नै सम्वादमा पछाडि रहे उनीहरुको व्यवहार किशोर–किशोरी अवस्थामा पनि उस्तै हुन जान्छ। कोही कसैसँग सम्वाद गर्न हिचकिचाउने तथा सामाजिक कार्यमा भाग लिन कम हुन्छ। अभिभावकले सुरुबाटै उनीहरुलाई हरेक गतिविधिमा सहभागी भएपछि पनि कुराकानी गर्न सहज हुन्छ।
३. बालबालिकालाई सकारात्मक प्रतिकृया दिनु असल अभिभावकको उदाहरण हो
बालबालिकाले अभिभावकले जे गर्छन्, त्यही सिक्छन्। अभिभावकले राम्रो सिकाए राम्रो सिक्छन् भने नराम्रो काम, गाली गर्ने तथा पिट्ने गर्यो भने त्यही पछिसम्म सिक्ने गर्दछन्। चाइल्ड वेलफेयरका अनुसार यो खालको सिकाई एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै जान्छ।
बालबालिकालाई राम्रो सिकाउनु अभिभावनको दायित्व हो भने राम्रो सिके अभिभावकलाई पनि राम्रो मानिन्छ।
४. सकारात्मक सोचले पनि व्यवहार परिवर्तन गराउन सकिन्छ
कुनै पनि बालबालिका पर्फेक्ट हुँदैनन्। बालबालिकाले राम्रो–नराम्रो दुवै काम गर्छन्। उनीहरुलाई सही र गलतको फरक नै थाहा हुँदैन। यस्तो समयमा बालबालिकालाई सिकाउने तथा सकारात्मक भएर व्यवहार देखाउनु पर्छ। पिटेर वा गाली गरेर सम्झाउँदा उनीहरुले पनि त्यस्तै बानी सिक्ने र पुनः गल्ती गर्ने सम्भावना रहन्छ।
उनीहरुको गल्तीलाई राम्ररी सम्झाएर सुधार गर्न सकिन्छ।
५. सकारात्मक सोचले उनीहरुको उपलब्धी प्रष्ट रुपमा देख्न सकिन्छ
यदि अभिभावकले बालबालिकाको राम्रो कुरा तथा गतिविधिलाई प्रशंसा गरेन भने उनीहरु खिन्न हुन्छन्। राम्रो काम गर्दा पनि सकारात्मक प्रतिकृया नदिए पछिबाट राम्रो गर्नै छाड्छन्।
स–साना उपलब्धीहरुमा पनि प्रशंसा गर्ने तथा अझै राम्रो गर्न उक्साउने तथा हौसला प्रदान गर्नुपर्छ। पढाइ तथा अन्य गतिविधिमा पनि राम्रो नभए उनीहरुलाई हौसला दिएपछि नतिजा राम्रो आउन सक्छ। बालबालिकालाई राम्रो बाटो हिँड्न सिकाउन अभिभावकले आफैं सकारात्मक प्रतिकृया दिएर हौसला प्रदान गर्न जरुरी हुन्छ।