धेरै डाक्टरहरू अन्तरमुखी स्वाभावका हुन्छन् । उनीहरू विरामी र पैसाबाहेक अरूकुरासँग सम्पर्क राख्न चाहदैनन् । तपाई आम रूपमा डाक्टरका बारेमा यस्तै सोचाई राख्नुहुन्छ भने एक जना डाक्टरलाई भेटेपछि सायद म गलत रहेछु भन्ने पर्ला । ती हुन् डा.केदारनरसिंह केसी । उनको पछिल्लो दिनमा थोरैले मात्रै थाहा पाएको केन्द्रिय कारागार अस्पतालका मेडिकल सुपरीटेन्डेड बाहेक महत्वपूर्ण परिचय छैन । तर डा.केसीलाई जतिले नेपाल चिकित्सक संघको पूर्व अध्यक्षको रुपमा चिन्छन्, त्यो भन्दा धेरै बढिले एउटा सहयोगी डाक्टरको रूपमा लिन्छन् ।
नेपालमा स्वास्थ्य सेवा लिन पैसा भएपनि सजिलो छैन । यो रोगका लागि कहाँ जाने ? को डाक्टर राम्रो छुट्याउन नसके विरामीले वर्षौसम्म दर्जनौ अस्पताल चहार्दा पनि रोगको पहिचान हुँदैन । जीवनमा यस्तो अन्यौल पर्दा धेरै मानिसहरू कुनै न कुनै माध्यमबाट उनीसम्म ठोक्किन आइपुग्छन् । सहयोग गर्न सक्ने हुँदैमा सबै कहाँ तयार हुन्छन् र ? तर डा.केदार स्वास्थ्य सेवाका लागि भौतारिरहेकाहरूका सहारा हुन् ।
सकेसम्मको सहयोग गर्नु उनको परिवारले सिकाएको संस्कार हो । सहयोगी भावना मनमष्तिस्कमा बगिरहेको छ । नुवाकोट राउतवेसीमा रहेको केसी निवास एउटा शिक्षालय जस्तै थियो । जहाँबाट अधिकांश चलेका पेशाका मानिस जन्मिए । बाबु भगवानसिंह पञ्चायत कालमा प्रधानपञ्च थिए । आमा यशोधादेवी आमा मात्रै होइनन्, अनुशासन र संस्कार सिकाउने गुरूआमा नै थिइन् । त्यस्तो परिवारका ७ दाजु भाईमध्ये काइलो छोरा केदारले त्यही आदर्शलाई पच्छ्याइरहेका छन् ।
उनको जन्म ०१४ साल चैत २० मा भयो । परिवारमा पढ्नुपर्छ भन्ने भावनाको प्रचुरता थियो । नुवाकोटमा नै छदाँ बुबाले ज्योतिषशास्त्र पढाउन काठमाडौवाट नै भिमभक्तमान भन्ने गुरुलाई लगेका थिए । प्रारम्भिक शिक्षा तीनै गुरूले दिए । उनले बाबु भगवानदासले स्थापना गरेको कौकेश्वरी प्रा.विमा उनले प्राथमिक शिक्षा लिए । सानैदेखि सबैसँग मिल्नसक्ने स्वभावका थिए रे उनी । ‘वदमासी पनि खासै गरेन भन्छन् परिवारमा ।’ उनले भने ।
सानैदेखि नै पढ्नुपर्छ भन्ने धारणा रहेकाले खेल्नतिर भन्दा पनि पढाइमा नै बढी समय दिने गर्दथे । तर पनि बाल्यकालमा कहिलेकांही फुर्सद मिलाएर माछा मार्न र कालिज लखेट्न, नुवाकोटमा चर्चित गोरू जुधाउने पर्वमा अल्लि बढी चासो दिए उनले ।
एसएलसी सम्मको पढाई उनले काठमाडौं लैनचौरस्थित शान्तिविद्यागृहबाट पूरा गरे । एसएलसीपछि कुन छोराछोरी के बन्ने भन्ने कुराको निर्णय बाबु र जेठो दाजु काग्रेसका प्रभावशाली नेता अर्जननरसिंहले गर्थे । उनलाई स्वास्थ्य पढाउने निर्णय भयो । उनी चिकित्साशास्त्र अध्ययन संस्थान अन्र्तगतको महाराजगञ्ज क्याम्पसमा स्वास्थ्य सहायक (एचए) पढ्न थाले । निर्णय परिवारले ग¥या,े त्यसलाई पूरा गर्न उनले निकै मेहनत गरे । अहिले पनि उनी कुनै काम गर्नुपर्छ भनेर लागेपछि त्यही ‘डेडिकेशन’का साथ गर्न सक्छन् ।
त्यतिवेला निकै थोरै स्वास्थ्य संस्था थिए । पास गरेर निस्किएपछि काम पाउँन गाहे थिएन । उनले लोकसेवा दिए । ०३६ सालमा स्थायी जागिर सुरू गरे । एचए सकेलगत्तै नुवाकोटको समता हेल्थ पोष्टमा तीन वर्ष काम गरेका रहेछन् । त्यो समयमा हालका परराष्ट्रमन्त्री तथा एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उनीसँगै नुवाकोटकै एक हेल्थ पोष्टमा काम गर्न गएका थिए । त्यतिबेला फुर्तिला यूवा डा.केसी र श्रेष्ठलाई गणेशमान सिंहले गाउँ गएर बहुदलको प्रचार र सेवा दुबै गर, हाम्रो सरकार आएपछि डाक्टर पढ्ने अवसर दिउँला भने । उनीहरू दुबै गाउँ गए । हालका परराष्ट्र मन्त्री श्रेष्ठलाई उनले शान्ति वार्ताको समयमा मोटरसाइकलमा राखेर गिरिजाप्रसाद कोइरालासँग भेट गराउँन मन्डिखाटारसम्म पनि पु¥याएका थिए ।
राजनीतिक चेत भएका यी स्वास्थ्यकर्मीले स्वास्थ्य चेनतासँगै राजनीतिक चेतना पनि फैलाए । यूवा अवस्था भएपनि उनले सेवा र राजनीतिबाहेक केही सोच्न पाएनन् । उनको पोष्टिङ भएको स्वास्थ्य केन्द्र घर र ममाघरको बीचमा प¥थ्र्यो । राउतवेसीमा केसी परिवारको र शेखरवेसीमा मावली पण्डित परिवारको उत्तिकै प्रभाव थियो । त्यसले पनि उनलाई सही मार्गमा राख्ने प्रेरणामात्रै दिएन सचेत पनि गराइरह्यो । यो दुबै परिवारको मित्रता र इज्जतसँग जेलिएर आएकाहरू केदारलाई उत्तिकै सम्मान गर्थेै । केदारले पनि गाउँमा अहोरात्र खटिएर सहयोग गरे ।
एमबिबिएस सकेपछि पनि आधा दशक भन्दा बढी छिमेकी जिल्लामा र केही समय गृह जिल्लामै चिकित्सकीय पेशाको अभ्यास गरे । मानिस जीवनमै सबैभन्दा बढी साहारा खोज्ने समय भनेको विरामी हुँदा नै हो । उनले यस्ता पीडाका समयमा धेरैलाई सहयोग गरेका छन्, आफूले सक्ने आफैले र नसकेको अवस्थामा विभिन्न अस्पताल र डाक्टर साथीलाई भनसुन गरेर । उपस्वास्थ्य चौकीमा बस्दादेखि बनेको तल्लोतहदेखिको सम्बन्ध अहिले खुम्चिएको छैन, विस्तार हुँदै गएको छ । त्यसैले त नुवाकोट रसुवातिरका अधिकांश सामान्य जनता र देशभर विस्तारित सम्बन्धबाट आउने धेरैले उनलाई स्वास्थ्य सहयोगी र ‘पारिवारिक चिकित्सक’ नै ठान्छन् । त्यसअर्थमा उनलाई जनतालाई स्वास्थ्य सल्लाह दिने निःशूल्क पारिवारिक चिकित्सक भन्दा पनि अत्यूक्ती नहोला ।
उपस्वास्थ्य चौकीमा काम गर्दैगर्दा काठमाडौबाट स्वास्थ्य शिविरका लागि एक जना चिकित्सक नुवाकोट पुगे । सुत्ने समयमा केदारको सिरानमा पञ्चायत विरोधी पोष्टर देखे । त्यसपछि ती डाक्टर डरले अर्को घरमा गएर सुते । तर केदारलाई बहुदलको प्रचार गर्न केही डर थिएन । गरीव जनताको सेवाका लागि केही नभनि लाग्थे । विरामीले पनि त्यतिखेर अत्ति नै माया गर्दथे । जनतालाई सेवा गर्न पाउने पेशा भएकाले उनि पनि खुसी भएर सेवा गर्दथे । काठमाडौमा अध्ययन गर्न आएदेखि नै केसीको संगत र सम्पर्क विभिन्न राजनितिक व्यक्तिसँग थियो । दाई अर्जुननरसिंह सक्रिय विद्यर्थी नेता भएकाले उनको पनि राजनितिक ज्ञान र चासो पनि बढी नै थियो ।
बहुदल आएको तीन वर्षपछि उनी पढ्नका लागि वंगलादेशका गए । तीन वर्ष अध्ययन र २ वर्ष असाधारण विदा लिएर पढाई पूरा गरे । उनले बङ्गलादेशको राजशाही मेडिकल कलेजबाट सन् १९८८ मा एमबिबिएस र बङ्गलादेशकै बङ्गलादेश विश्वविद्यालयबाट सन् १९९४ मा छाति तथा टिबी रोगसम्बन्धी विशेषज्ञता कोर्स आइडिसिएच पूरा गरे । एमबिबिएस सकेर फर्किएपछि उनले सुरुमा कालीमाटी चेस्ट अस्पतालमा काम थाले । केही समयपछि नै उनले राष्ट्रिय क्षयरोग केन्द्रमा काम थाले । ०४७ मा लोक सेवामा नाम निकाले । उनी क्षयरोग केन्द्रमा काम गर्दागर्दै पुन डिटिसिडि पढ्न बङगलादेश गए ।
वंगलादेशबाट फर्किएपछि उनले वीर अस्पतालमा काम थाले । केही पछि उनीले रसुवामा सरुवा मागेर गए । स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा.कल्याणराज श्रेष्ठ, स्वास्थ्य सचिव श्रीकान्त रेग्मी थिए । उनले रसुवा जान्छु भनेको थाहा पाएपछि रेग्मीले किन मलाई नभनेको त भन्दै उनलाई राजनीति गर्न जान लागेको भनेर प्रश्न गरे । उनले पनि महिनामा तीन साता जिल्ला बस्ने र एक साता काठमाडौ बस्छु भनेपछि रेग्मीले तत्कालै रमाना दिए । यूवा अवस्था काठमाडौ र वंगलादेशमा विताएका केसी पहिलो दिनमा रसुवा पुग्दा त्यहाँको फोहर देखेर खाना खानसमेत सकेनन् । उनी नुवाकोट फर्किएर खाना खाए । त्यहाँको कष्टकर जीवन देखेर बस्न सकिन्न की भन्ने लागेको थियो । एक वर्ष दुर्गममा बस्नु पर्ला भनेर गएका उनी ५ वर्षभन्दा बढी समय त्यहाँ विताए । ‘म यति रमाएको थिएँ की एमाले सरकारले सरूवा नगरेको भए म अझै त्यतै पो हुन्थें की ।’ उनले थपे ।
जिल्लामा बस्दा उनले त्यतिखेर ९० वटा हाइड्रोसिलको अप्रसन ५६ हजारमा गरे । त्रिशुली अस्पतालमा २० हजार खर्च गरेर ६० वटा हाइड्रोसिल शल्यक्रिया गरे । अहिले पनि ती कुरा संम्झिदा उनलाई इच्छाशक्ति रहँदा थोरै पैसाले पनि धेरै काम गर्न सकिन्छ भन्ने लाग्छ । रसुवाबाट उनी कान्ति अस्पतालमा सरुवा भएर आए । कान्तिको बसाईले उनलाई चिकित्सकको राजनीतिको यात्रा सहज पा¥यो । सन् १९९५ देखि ९७ सम्म र शिक्षा मन्त्रालयमा सन् १९९८ देखि ९९ सम्म सल्लाहकारको रूपमा पनि उनले काम गरे ।
सोझो हिसाबले अभ्यास गर्दैगर्दा केसी परिवारको डाक्टर केटो भन्दै डा.भोलाराज जोशीले उनलाई दवाव दिएर चिकित्सक संघको आजिवन सदस्य बनाए । कुरा ०४८ सालतिरको थियो । चिकित्सक संघको काउन्सिल सदस्य हुँदै महासचिव र अध्यक्ष सम्म भए । उनीभित्र भएको राजनीतिक चेत र सामाजिक भावनाले चिकित्सक र आम पब्लिकको हितमा प्रष्फुटन हुने मौका संघको राजनीतिले दियो । यसबीचमा उनले नागरिक समाजको तर्फबाट नेपालको महत्वपूर्ण राजनीतिक घडीमा आफ्नो शसक्त उपस्थिति देखाए । परिवार वा आफन्तसँग नजोडिइकन पनि उनले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र नयाँ नेपाल निर्माणको क्षेत्रमा दरिलो उपस्थिति जनाइरहेका छन् ।
संघको अध्यक्ष हँुदा पनि उनले नेपालका चिकित्सक र स्वास्थ्य संस्थामाथि भएका थुप्रै आक्रमणको घटनाविरूद्ध राज्य र गैरराज्य पक्षसँग शसक्त प्रतिपाद गरे । सेतो कोट लगाएर सोझो अभ्यास मात्रै गर्ने वर्गको रुपमा छवि बनाएका चिकित्सक समुदायलाई पेशागत अभ्याससँगै राज्य सञ्चालनका क्रममा आउने अन्य गतिविधिमा बलियो उपस्थिति देखाउने गरी धेरै हदसम्म परिचित गराए । सक्रिया जीवन, पेशागत इमान्दारिता र सहयोग उनका जीवनका आदर्श हुन् । यी कुरामा उनले कहिल्यै संम्झौता गरेनन् र अब पनि नगर्ने बताउँछन् । पछिल्ला दिनमा राजनीतिसँगै सुधारिन नसकेको स्वास्थ्य क्षेत्र उनका चिन्ताका विषय हुन् ।
०४८ सालदेखि डा.केदारका हर सफलता र असफलताकी साक्षी र सहयात्री बनेकी श्रीमती रेखा थापा त्रिभूवन विश्वविद्यालयमा जागिरे छिन् । एक छोरा र एक छोरी पनि पढ्दैछन् । उनी जागिरबाहेक थुप्रै समाजसेवामा छन् । जननेता विपीको नाममा स्थापित अस्पतालका उपाध्यक्ष हुन् उनी । अहिले पनि उनी रातसाँझ नभनी कसैलाई सहयोगकै लागि तल्लिन रहन्छन् । दिनमा आउने सय भन्दा बढी फोन मध्ये अधिकांश स्वास्थ्य एवं अन्य क्षेत्रमा गर्नुपर्ने सहयोगसँग सम्बन्धित हुन्छ । कसैले सहयोग दिनुपर्ने अवस्थामा उनका लागि मध्यरात पनि मध्यदिन सरह हो । उनी यसैलाई जीवनको सन्तुष्टि ठान्छन् । सरकारी जागिरबाट अबकास लिएपनि उनले समाजसेवाको बाटो रोज्ने बताएका छन् । उनले थाल्ने फराकिलो स्वास्थ्य सेवाबाट अझै धेरै विपन्नले पक्कै यो भन्दा बढी सेवा पाउनेछन् ।